Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

इच्छाकामना न्युज

३१, बैशाख २०८२
बेलायतमा नेपाली भजन महोत्सव

बेलायत : बेलायतमा बसोबास गर्दै आएका नेपालीहरूको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लन्डन, स्कटल्यान्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरूको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए । 

images

‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाऊँ, सभ्य र उन्नत जीवनलाई अँगालौँ’ भन्ने नारासहित सम्पन्न महोत्सवमा आठवटै टोलीले आ–आफ्नो भजन प्रस्तुत गरेका थिए । 

महोत्सव उद्घाटन गर्दै उल्भरह्याम्टन काउन्सिलका मेयर लिन्डा लिचले, बेलायतमा जीवन बिताइरहेका नेपालीहरूले आफ्नो संस्कृति संरक्षणमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म नेपाली समाजले आफ्नो संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्छु र यस अभियान आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वस्त छु ।” 

महोत्सवमा यस पटक धेरै टोली सहभागी भएको र सहभागीको सङ्ख्या पनि बढेको जानकारी दिँदै कार्यक्रम संयोजक नेपाली समाज वेष्टमिडल्यान्डस्का पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक शिव खरेलले नेपाली संस्कृति संरक्षणका लागि बेलायतमा रहेका नेपाली समुदाय सचेत बन्दै गएकामा भन्दै खुसी व्यक्त गर्नुभयो ।

महोत्सवमा ६०० भन्दा बढीको सहभागिता थियो । उहाँले भन्नुभयो, “नेपाली समुदायमा नेपाली धर्म र संस्कृतिप्रतिको धारणा पुनः जागरण गराउन महोत्सव आयोजना गर्न थालिएको हो, यसमा हामी सफल भएका छौँ ।”

साझा नेपाली समाज युकेका अध्यक्ष दीपक सापकोटाले कार्यक्रमले नेपाली धर्म र संस्कृतिको संरक्षण र प्रचारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँपुस्तालाई सनातन संस्कार र संस्कृति सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो । 

नेपाली समाज वेष्टमिडल्यान्ड्सका अध्यक्ष भीम शर्माले कार्यक्रमले बेलायतमै जन्मिएका नेपाली पुस्तालाई आफ्नो संस्कृतिबारे जान्नका लागि यो ठुलो अवसर भएको बताउनुभयो । महोत्सवमा सहभागी भजन मण्डलीले भजन प्रस्तुत गर्नुका साथै नेपाली कला, संस्कृति, वेशभूषा झल्किने नृत्य प्रस्तुत गरेका थिए । त्यस अवसरमा निःशुल्क रूपमा नेपाली खानाका परिकार उपलब्ध गराइएको थियो ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - ०८:५७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology