आँबुखैरेनी, १ जेष्ठ — सार्वजनिक तथा निजी सवारी साधनमा यात्रुहरूले प्रयोग गरेका फोहोर सडकमा फालिने प्रवृत्तिलाई नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय आँबुखैरेनीले “डस्टबिनसहितको सवारी साधन” कार्य योजना लागू गरेको छ।
यस अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आज बिहीबार समन्वयात्मक बैठकको आयोजना गरिएको थियो। बैठकमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसाय समिति, आँबुखैरेनी बजार क्षेत्रका टोल सुधार समिति, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा सहभागीहरूबीच सवारी साधनभित्र डस्टबिन अनिवार्यरूपमा राख्नुपर्ने, यात्रुहरूले फोहोर उचित रूपमा व्यवस्थापन गर्नुपर्ने र वातावरणप्रति उत्तरदायी हुनुपर्ने विषयमा गम्भीर छलफल भएको थियो।
प्रहरी निरीक्षक सुवेदीले फोहोर व्यवस्थापनको अभावले सडक र सार्वजनिक स्थानहरू फोहोर हुनुका साथै वातावरणीय प्रदूषण बढ्ने खतरा रहेको भन्दै यस अभियानलाई समग्र रूपमा अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए।
बैठकमा बोल्ने वक्ताहरूले यस्तो वातावरणमैत्री अभियानलाई दीर्घकालीन रूपमा कार्यान्वयन गर्न नीति निर्माणदेखि जनचेतनासम्म जोड दिनुपर्नेमा जोड दिए।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यस अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, यात्रु, सञ्चारकर्मी, सामाजिक संघसंस्था तथा आम नागरिकहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेको छ।