आँबुखैरेनी । आँबुखैरेनी भेट्रान्स क्लबले आज (बिहीबार)देखि ग्रास-रूट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
८ देखि १३ वर्ष उमेरका ५० जना बालबालिकालाई प्रशिक्षण दिने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम फुटबलको आधारभूत सीप सिकाईमा केन्द्रित रहनेछ।
एन्फाबाट लाइसेन्स प्राप्त कोच सञ्जय वि. क. र सहायक कोच प्रशिस श्रेष्ठले दिने ग्रास-रूट फुटबल प्रशिक्षणमा फुटबलका प्रारम्भिक सीप, खेलको नियम र खेलाडीको शारीरिक विकासमा विशेष ध्यान दिइनेछ।
आँबुखैरेनी भेट्रान्स क्लवका अध्यक्ष अनिल श्रेष्ठले भने, "हाम्रो उद्देश्य बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्नु हो। भविष्यमा उमेर समूहदेखि सिनियर राष्ट्रिय टिमसम्मका उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यमा अघि बढिरहेका छौं।"
आँबुखैरेनीमा यस कार्यक्रमको सुरुवातले नेपालको फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।