डाँडाटोल, आँबुखैरेनी – ३ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित डाँडाटोलमा लियो क्लब अफ आँबुखैरेनीद्वारा सञ्चालनमा ल्याइएको एम्बुलेन्स विग्त १४/१५ वर्षदेखि प्रयोगबिहीन अवस्थामा डम्पिङ गरिएको पाइएको छ।
स्थानीयहरूका अनुसार सामाजिक सेवाको उद्देश्यले संचालनमा ल्याइएको एम्बुलेन्स सुरुआती समयमा अस्पताल पुर्याउने सेवाका लागि प्रयोग भए पनि पछि मर्मतसम्भार अभावका कारण बिग्रिएर थन्किएको हो। लामो समयदेखि अनुपयोगी बनेको उक्त सवारी साधन अहिले जङ्गलिएको अवस्थामा छ।
“बिरामी हुँदा एम्बुलेन्स नपाएर सास्ती खेप्नुपर्छ, तर समाजसेवाको नाममा ल्याइएको एम्बुलेन्स चाहिँ यसरी थन्किएको छ,” डाँडाटोल टोल सुधार समितिका अध्यक्ष प्रकाश श्रेष्ठले भने।
एम्बुलेन्सको स्वामित्व लियो क्लबसँग भए पनि यसको जिम्मा कसले लिने भन्ने विषयमा स्पष्टता नभएको स्थानीयहरूको भनाइ छ।
स्थानीय तह तथा सरोकारवाला निकायले यसप्रति चासो नदेखाएको भन्दै स्थानीयले तत्काल ध्यान दिन आग्रह गरेका छन्।