भरतपुर, जेठ ५ । चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारका लागि आउने बिरामीलाई ठगी गरेको भेटिएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको छ ।
अस्पतालले बीमा मार्फत आउने बिरामी (बिमित) र बोर्ड दुबैबाट दोहोरो शुल्क असुलेको पाइएको हो ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने विमितहरुको गुनासो र उजुरीका आधारमा अस्पतालको पटक–पटक अनुगमन गरिएको थियो ।
सो क्रममा अस्पतालले बिमामा पर्ने औषधिको समेत पैसा लिने गरेको भेटिएको थियो । अस्पतालले गरेको भुक्तानी दाबी झुटो रहेको पाइएपछि बोर्डले तीन महिनाका लागि कार्यक्रम बन्द गरेको मल्लले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँले अस्पतालबाट बिमितको क्षतिपूर्ति समेत असुल गर्नेगरी बोर्डबाट निर्णय भएको बताउनुभयो । ‘स्वास्थ्य बीमा कार्यक्रम पाँच बर्षका लागि अस्पतालसंग सम्झौता हुन्छ,उहाँले भन्नुभयो,सम्झौता बिपरितका काम भए कार्यक्रमनै खारेज गर्नेसम्मका प्रक्रिया हुन्छ ।’
यस बिषयमा अस्पताल प्रशासनसंग कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । चितवनमा एक दर्जन स्वास्थ्य संस्थामा बीमा कार्यक्रम लागू छ ।