मकवानपुर, गढी ८ | मकवानपुरको गढी गाउँपालिका–८ स्थित छत्रेडाँडामा अवस्थित पञ्चकन्या पाथिभरा मन्दिर हाल धार्मिक श्रद्धालुहरूको आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। समुद्री सतहबाट २,१४१ मिटरको उचाइमा रहेको यो पवित्र स्थलमा दैनिक सयौंको संख्यामा भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन्।
स्थानीयवासीका अनुसार विशेष पर्व, शनिबार, पूर्णिमा तथा नवदुर्गाका समयमा यहाँ भक्तजनहरूको उल्लेखनीय भीड लाग्ने गर्छ। छत्रेडाँडाबाट देखिने मनोरम प्राकृतिक दृश्य, हरियाली वातावरण र पाथिभरा देवीको दिव्य आस्थाले यो क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यको रूपमा विकास गरिरहेको छ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय सरकार तथा विभिन्न संघसंस्थाले पूर्वाधार विस्तारमा समेत चासो देखाउँदै आएका छन्। मन्दिर क्षेत्रसम्मको पहुँच सहज बनाउन सडक, खानेपानी तथा विश्रामस्थलको व्यवस्था सुधार गर्ने योजना अघि बढाइएको गढी गाउँपालिकाले जनाएको छ।
पञ्चकन्या पाथिभरा मन्दिरलाई शक्तिको प्रतीकको रूपमा पूजिन्छ भने यहाँ दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। दर्शनार्थीहरूले छत्रेडाँडाको हरियाली वातावरणमा आध्यात्मिक शान्तिको अनुभूति गर्दै पवित्र स्थलको दर्शन गर्ने गर्छन्।