आँबुखैरेनी, ८ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गेट निर्माणमा अवरोध गरिरहेका अव्यवस्थित तारहरू हटाउन सम्बन्धित निकायहरूलाई सात दिनको अल्टिमेटम दिएको छ।
गाउँपालिकाको कार्यालय अगाडि रहेको “गाउँपालिका चोक” हुँदै छिम्केश्वरीतर्फ जाने मुख्य मार्गमा हाल छिम्केश्वरी प्रवेशद्वार (गेट) निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
तर, उक्त निर्माण स्थलमा अव्यवस्थित रुपमा रहेको विद्युतीय तथा अन्य तारहरूले प्रत्यक्ष अवरोध पुर्याइरहेको भन्दै गाउँपालिकाले जेठ ७ गते एक सूचना प्रकाशित गर्दै सात दिनभित्र ती तार हटाउन आग्रह गरेको हो।
सूचनामा भनिएको छ, "तोकेको समयसीमा भित्र तारहरू हटाइएको नदेखिएमा गाउँपालिकाले बाध्यतावश ती तारहरू हटाउने प्रक्रिया अघि बढाउनेछ र त्यसबाट उत्पन्न हुने कुनै पनि क्षति वा हानि–नोक्सानीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय स्वयंले नै वहन गर्नुपर्नेछ।"
प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेको सूचनामा स्थानीय सरोकारवाला निकायहरूलाई जिम्मेवार रहन पनि आग्रह गरिएको छ।