भरतपुर । रत्ननगर–९ बस्ने ५६ वर्षीय वसन्त ढुङ्गानाविरुद्ध चितवन प्रहरीले दुईवटा मुद्दा दर्ता गरेको छ ।
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार र २९ वर्षीया महिलालाई करणी प्रयास गरेको आरोपमा मुद्दा दर्ता गरिएको चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए । इलाका प्रहरी कार्यालय, रत्ननगर प्रहरीले जेठ १५ गते आरोपितलाई गिरफ्तार गरेको हो ।
विदेश गएपछि मानसिक सन्तुलन ठीक नहुने र त्यसका लागि वीर–मसान लागेको भन्दै झाँक्री काम गर्ने उनले बालिकालाई नग्न बनाई शरीरको विभिन्न भागमा छुने काम गरेको पीडितले जेठ १५ गते दिएको उजुरीमा उल्लेख छ ।
श्रीमानसँग झगडा मात्र भइरहने भनी हात हेराउने काम गर्दै आएका ढुङ्गानासँग जाँदा उनले कोठाभित्र लगी अर्ध नग्न बनाई करणी प्रयास गरेको भनी पीडितले जेठ १५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको प्रवक्ता खनालले जानकारी दिए ।
दुई घटनाको घटनास्थल फरक–फरक रहेकाले रत्ननगर र जिल्लाबाट मुद्दा चलेको उनले बताए ।