भरतपुर । क्लिनिक नेपालले भरतपुर–२७ मा रहेका विपन्न परिवारको स्वास्थ्य बिमा नवीकरण गरिदिएको छ । क्लिनिक नेपालको संरक्षणमा रहेका बालबालिका तथा वरपरका अतिविपन्न समुदायहरूको स्वास्थ्य बिमा नवीकरण गरिएको हो ।
हालसम्म १०० घरपरिवारलाई यो बिमा योजनामा समावेश गरिएको छ। प्रत्येक घरपरिवारमा औसतमा पाँचदेखि आठ जना सदस्य रहेका छन्, जसअनुसार सयौँ व्यक्तिहरूको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गरिएको छ।
स्वास्थ्य बिमा योजनाअनुसार पाँच जना सदस्यसहितको एक घरपरिवारको बिमा शुल्क ३ हजार ५०० रुपैयाँ पर्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रत्येक अतिरिक्त व्यक्तिको लागि ७०० रुपैयाँ थप शुल्क लाग्ने व्यवस्था छ ।
क्लिनिक नेपालले आगामी आर्थिक वर्ष २०८२-८३ मा यो संख्या बढाएर १५० घरपरिवारसम्म पुर्याउने लक्ष्य राखेको छ, जसले समुदायमा स्वास्थ्य सुरक्षाको पहुँचलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।