Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

उपचारपछि घर फर्किए गोपीलाल, सबैको सहयोगले खुसी

उपचारपछि घर फर्किए गोपीलाल, सबैको सहयोगले खुसी

images

इच्छाकामना न्युज

२१, जेठ २०८२
उपचारपछि घर फर्किए गोपीलाल, सबैको सहयोगले खुसी
images

तुलमान गुरूङ

भरतपुर । देवघाटका ३८ वर्षीय गोपीलाल आलेमगर उपचारपछि घर फर्किएका छन् । गत आइतबार अस्पताल भर्ना भएका मगर उपचारपछि मङ्गलबार घर फर्किएका हुन् ।

विगत तीन वर्षदेखि उपचार नपाएका मगरको उपचारमा देवघाट गाउँपालिका र भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले उपचारमा सहयोग गरेपछि उनको उपचार सम्भव भएको हो । कमाउनका लागि केही वर्षपहिले खाडी गएका मगर आफैँले चलाएको सवारी दुर्घटनामा परी घाइते भएका थिए ।

बायाँ हातमा गम्भीर चोट लागेका उनको आर्थिक अभावका कारण पूरा उपचार हुन नसक्दा पीडा सहेर बस्न बाध्य थिए । देवघाट गाउँपालिका वडा नं–३, ल्हुङ्ग्रीङ घर भएका मगरको उपचारमा आर्थिक समस्या भएको चितवन पोष्ट दैनिकमार्फत जानकारीमा आएपछि देवघाट गाउँपालिकाले उपचारमा सहयोग गर्ने भनी कार्यपालिका बैठकले नै निर्णय गरेको थियो ।

एलाइभ हस्पिटलले आधा छूटमा उपचार गराउन सक्ने भएपछि अस्पतालमा बुझाउनुपर्ने आधा रकम गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । आफ्नै पालिकाभित्रका जनता कोही उपचार नपाएर मर्न बाध्य नहून् भन्ने उद्देश्यका साथ गाउँपालिकाले स्थानीय सरकार भएको महसुस गराउन पनि विपन्न नागरिकको स्वास्थ्योपचारमा ध्यान दिएको उनको भनाइ छ ।

देवघाट गाउँपालिकाभित्र आर्थिक अभावकै कारण उपचार नपाएका र उपचार सम्भव हुने बिरामीका लागि सम्बन्धित अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले पनि सहयोग गर्दै आएको अध्यक्ष मगरले दाबी गरे । उनका अनुसार गोपीलाल आलेमगरको उपचारमा पनि गाउँपालिकाले विपन्न नागरिकको उपचारका लागि ५० हजार रूपैयाँ सहयोग गरेको हो ।

उपचारमा संलग्न एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रमोद लामिछानेका अनुसार आवश्यक उपचार नपाउँदा घाउमा सङ्क्रमण भइसकेको थियो । र, चोट लागेको हातको कुहिनाभन्दा तल्लो भाग काम नगर्ने अवस्थामा रहेको हुँदा त्यसलाई फालेर उपचार गरिएको उनले बताए ।

उपचार पाएपछि गोपीलाल आलेमगर खुसी छन् । स्थानीय सरकार आएको लामो समयपछि नागरिकको दुःखमा साथ दिएको महसुस भएको उनले बताए । ‘अस्पताल र गाउँपालिकाबीचमा समन्वय गर्ने काममा लाग्नुभएका सबैप्रति आभारी छु । ढिलै भए पनि गाउँपालिका र अस्पतालबाट सहयोग पाइयो’, उनले भने, ‘लामो समय पीडा सहेर बसे पनि एकदिन भगवान्ले हेर्दा रहेछन् भन्ने महसुस गराएको छ ।’

एलाइभ हस्पिटलले यसअघि पनि देवघाटकै ११ वर्षीय रामबहादुर भुजेलको शतप्रतिशत छूटमा उपचार गराएको थियो । उनी अझै पनि अस्पतालको निगरानीमै छन् । उनी पनि हात भाँचिएर हड्डी नै बिग्रिएपछि उपचारका लागि चितवन पोष्ट दैनिकमा आएको समाचारकै माध्यमबाट एलाइभ आइपुगेका थिए ।

images
प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ०९:१६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology