माडी । सोमेश्वर डाँडाको फेदमा एउटा सानो खोल्सो छ, जसलाई छरछरे भनेर चिनिन्छ । त्यही छरछरेको एउटा सानो खोल्सोमा कठकुइयाँ पिउने पानी छ । कठकुइयाँ भनेको थारु भाषामा राखिएको नाम हो ।
माडी–४, सिधुवाका सुनिल महतोका अनुसार थारु भाषामा ‘कठ’ भनेको काठ र ‘कुइयाँ’ भनेको प्वाल हुन्छ । यहाँ अचम्मको दृश्य छ ! वर्षौंअघि ढलेको सालको मुढाबाट पानीको मूल निस्किएको छ । बसन्तपुर बजारबाट सोमेश्वरतर्फ जाँदा बायाँतर्फ जङ्गलको बीचमा यो स्थान पर्छ । बस्तीबाट केही टाढा रहे पनि जङ्गल जानेहरुका लागि भने पिउने पानीको स्रोत नै यही हो ।
माडी–४, राधापुरका नरबहादुर सुनारका अनुसार पानीको स्रोत कहाँबाट आएको हो भन्ने यकिन छैन । करिब एक मिटर लामो सालको ठुटो तेर्सो परेको छ । त्यही काठको बीचमा रहेको प्वालबाट कञ्चन पानी एकनासले निस्किरहेको छ ।
‘हामीले थाह पाउँदा यो रुख ढलेकै अवस्थामा थियो । पानी आएको देखेर टुप्पोबाट काट्दै काट्दै फेदसम्म आएको हो’, उनले भने, ‘अहिले बुढेसकाल लागिसक्यो, यो पानी यस्तै छ ।’ जति नै गर्मी मौसम भए पनि यो पानी चिसो भइरहने हुँदा स्थानीयले अन्तको भन्दा कठकुइयाँको पानी मीठो भएको समेत बताउँदै आएका छन् ।
यो पानी बचाउन सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको छ । दायाँबायाँ सिमेन्टको पर्खाल लगाएर विश्रामस्थल बनाइदिएको छ भने पानी आएको सालको ठुटोलाई पनि संरक्षण गरेर धारोको आकार दिइएको छ ।
तर, पानी कसरी काठको ठुटोबाट आयो भन्ने कुराको अहिलेसम्म अनुसन्धान भएको छैन । स्थानीयले भने देख्दै अचम्म लाग्दो पानीको मुहान वर्षौंदेखि देखिएको भन्दै यसको अध्ययन हुन आवश्यक रहेको बताएका छन् । सुनारका अनुसार यो पानी कहिल्यै घट्ने र बढ्ने हुँदैन, सधैँ स्वच्छ छ ।
जङ्गलको बीचमा रहेको खोल्सामा पानी पर्दा बाढी आए पनि काठबाट आएको पानीलाई कुनै प्रभाव नपार्ने स्थानीय बताउँछन् । ‘पानी पर्दा ठूलो बाढी आउँछ तर यो मूल न बढ्छ, न धमिलो हुन्छ, न सुक्छ’, माडी–४, सिधुवाका महतो भन्छन्, ‘बर्खासर्खा’ एकैनास पानी आइरहेको देखेर जोकोही पनि अचम्म पर्छन् !’
माडी नगरपालिकाले भने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हुँदा कुनै पनि विषयमा अध्ययन अनुसन्धान हुन नसकेको जनाएको छ । निकुञ्ज ऐनले छेक्दा कतिपय पुराता¤िवक विषयमा समेत अध्ययन, अनुसन्धान हुन नपाएको माडी नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारी बताउँछन् । ‘धेरैले यस्ता विषयमा अध्ययन हुनुपर्छ भन्छन् । तर, निकुञ्जकै कारण हामी केही गर्न सक्दैनौँ’, उनी भन्छन्, ‘त्यसकारण हिजो जस्तो थियो आज पनि त्यस्तै छ ।’
अध्ययन, अनुसन्धान गर्न मिल्ने हो भने माडीमा यस्ता ठाउँ प्रशस्त रहेको उनले बताए । जङ्गलको बीचमा मानवनिर्मित सामग्री भेट्टाउँदासमेत सरकारले केही गर्न नसकेको उनको भनाइ छ ।