Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धार्मिक पर्यटकको आर्कषक गन्तव्य बन्दै छिम्केश्वरी

धार्मिक पर्यटकको आर्कषक गन्तव्य बन्दै छिम्केश्वरी

इच्छाकामना न्युज

६, भाद्र २०८२
धार्मिक पर्यटकको आर्कषक गन्तव्य बन्दै छिम्केश्वरी

तनहुँ, भदौ ६ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गइरहेको छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरी माईमा पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

images

छिम्केश्वरीलाई पुग्नका लागि सडकको स्तरोउन्नती भएसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छिम्केश्वरी पर्यटन विकास समितिले जनाएको छ । यहाँबाट पहाडी र ग्रामीण वातावरणको मजा लिन पाइन्छ । समितिका अध्यक्ष कृष्णमान तामाङका अनुसार यहाँ वार्षिक रुपमा करीव एक लाख पर्यटक आउने गरेका छन् ।

यहाँबाट देखिने अपि, सैपाल, धवलागिरि, बुद्ध, अन्नपूर्ण, मनास्लुलगायतका हिमाल, हरियाली डाँडा तथा समथर भूभाग, नदीनाला, पाखा छहराको मनोरम दृश्यले धेरैको मन लोभ्याउँछ । पछिल्लो समय आन्तरिक पर्यटकको राम्रो गन्तव्य बन्दै गइरहेको छ । तामाङले भन्नुभयो, ‘‘यस क्षेत्रमा छिनमै लाग्ने कुहिरो र बादल तथा छिनमै खुल्ने पर्यावरणले पर्यटकलाई आकर्षित गरिरहेको ह ।’’ समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ । हाल छिम्केश्वरीमा दैनिक करीव दुई सय आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा बिहीबार दस हजार बढी भक्तजनले पूजाआजा गरेको यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवन, नवलपुरबाट भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउनुहुन्छ । एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीको पर्यंटन प्रवर्धनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण, आवतजावतका लागि सहज बनाउन सडकको स्तरोउन्नती, सिंढीमार्गको निर्माण गरिएको छ । छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छ भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म १६ किमी कच्ची सडकको यात्रा र त्यसपछि आधा घण्टाको पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । मन्दिर पुर्न निर्माणमा ८० लाख बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष चुमान जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :भाद्र ६, २०८२ शुक्रवार - ०८:४३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology