काठमाडौ, ८ भदौ । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । कुलबहादुर गुरुङलाई पराजित गर्दै शेर्पा अध्यक्ष निर्वाचित भएका हुन् ।
शेर्पा ३४२ मत ल्याउँदा गुरुङले २८८ मत ल्याए । सत्ता गठबन्धनका कांग्रेस र एमाले निकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए । वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहका ईश्वर पौडेलले ३४५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धीले २५८ मत ल्याए ।
प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यस्तै सचिवमा चन्दन थापा विजयी भए ।
सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाको बराबरी मत आएको छ । उनीहरूबीच कार्यकाल आधा–आधा गर्ने सहमति भएको छ ।