Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस

आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस

इच्छाकामना न्युज

१९, मंसिर २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस

काठमाडौं । स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस शुक्रबार मनाइँदै छ। नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्।  

images

काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए। ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन्।

साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। 

दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए।

‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’,  ‘श्रद्धाको फूल चढाइदिनु’  ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवनदेखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘दुईटा फूल द्यौरालीमा’, आजै र राति के देखेँ सपना’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’,​ ‘पोखिएर घामको झुल्का’ र ‘तिमीले भनेका सारा देव छोएर’ लगायत उनका गीत लोकप्रिय छन्। उनले तारादेवी, अरुणा लामा, दिलमाया खाती, मीरा राणा, ज्ञानु राणा, कमला श्रेष्ठ र भारतीय गायिका आशा भोसलेसँग केही युगल गीत गाए।

आधुनिक गीतका साथै उनी पार्श्वगायनमा समेत रुचाइएका गायक हुन्। परिवर्तन, सिन्दुर, बदलिँदो आकाश, लाहुरे, चोट, चिनो र दक्षिणालगायत चलचित्रमा उनको आवाज सुन्न सकिन्छ। 

कुशल स‌गीतकारसमेत रहेका नारायणगोपालले भक्तराज आचार्य, फत्तेमान र अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका थिए। उनको संगीतमा लोचन भट्टराईले र रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित छ। यो गीत शुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि भट्टराई र ढकालले स्वर दिए। 

उनले गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाए। उनको निधन २०४७ मंसिर १९ गते  भयो।  उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरियो।

 

दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे। पेमलाको निधन २०६१ असार १६ गते  भयो।

images
प्रकाशित मिति :मंसिर १९, २०८२ शुक्रवार - ०९:१९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology