रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ।
घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ।
खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर बनायो। पहिलो हाफमा किलियन एमबाप्पे र भिनिसियसले राम्रो मौका बनाए पनि गोल गर्न सकेनन्।
दोस्रो हाफ सुरु भएको तीन मिनेटमा सेल्टाका विलट स्वेडबर्गले गोल गरे। बायरान सारागोजाको क्रसलाई उनले गोल गरेका हुन्। त्यसपछि रियलको समस्या अझै बढ्यो। ६१औँ र ६२औँ मिनेटमा फ्रान गार्सियाले लगातार दुई पहेंलो कार्डको सामना गर्दै मैदान बाहिरिए।
इन्जुरी समयको चौथो मिनेटमा अल्भारो करेरासले रेफ्रीसँग गरेको विरोधका कारण रातो कार्ड पाएपछि रियल ९ खेलाडीमा सीमित भयो।
इन्जुरी समयको पाँचौं मिनेटमा इआगो अस्पासले दिएको थ्रुबलमा स्वेडबर्गले दोस्रो गोल गरे । यो हारपछि रियल बार्सिलोनाभन्दा ४ अंकले पछाडि छ। सेल्टा १९ अंकसहित लिगको दशौँ स्थानमा छ।