सिमलताल । सिमलतालमा दुर्घटनामा परेको बसभित्र मानव कङ्काल भेटिएको छ । बस उत्खनन गरेको १६औँ दिनमा मानव शरीरका अङ्ग भेटिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि मानव शरीरको अङ्ग भेटिएको पुष्टि गरेका छन् । त्यसलाई जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा कानुनी प्रकृयाअनुसार काम गर्ने उनले बताए । भेटिएको कङ्काल परीक्षणको लागि भरतपुर अस्पताल ल्याइएको छ ।
‘मानव कङ्काल भेटिएको छ । चालक बस्ने क्याबिनको भाग काटेर निकालिएपछि मानव कङ्काल भेटिएको छ,’ उनले भने, ‘महिला, पुरुष भनेर छुट्याउन सकिने अवस्था छैन । बसभित्र अझै पनि कङ्काल भेटिन सक्ने सम्भावना छ ।’ बसको पछाडिको भाग अझै पनि बालुवामुनि नै भएको हुँदा त्यसभित्र पनि मानव कङ्काल भेटिन सक्ने सम्भावना रहेको उनले बताए ।
२०८१ साल असार २८ गते बिहान करिब साढे ३ बजे भएको दुर्घटनामा दुईवटा बस त्रिशूलीमा बगेको थियो । त्यसको डेढ वर्षपछि गणपति डिलक्सको बस त्रिशूली किनारको आँबुखैरेनीतर्फ फेला परेको थियो । बस भेटिएपछि टायर कान्छा नेतृत्वको समूहले बस उत्खननको काम गर्दै आएको छ ।
बर उत्खननको क्रममा आइतबार साँझ नै मानव अङ्ग भेटिनुका साथै गन्ध आएपछि सोमबार बिहानैदेखि प्रहरीले थप सुरक्षा दिएको थियो । सोमबार पनि दिनभर प्रहरीको सुरक्षा घेराभित्रै बसेर बस निकाल्ने काम गरिएको हो । बस बालुवामा गडेको हुँदा सिङ्गै तान्ने प्रयास विफल भएपछि ग्यासको माध्यमबाट काटेर अगाडिको भाग निकालिएको छ ।
बसको बाँकी भाग निकाल्न अब समय नलाग्ने प्राविधिक टोलीका प्रमुख टायर कान्छाले बताए । गत १६ दिनदेखि त्रिशूली किनारमै बसेर बस निकाल्नै गरेको टोलीले चेनपुल्लीको सहायताले बस निकाल्ने प्रयास गरिएको छ ।