Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बंगलादेशमा प्रधानमन्त्रीको शपथ लिँदै तरिक रहमान

बंगलादेशमा प्रधानमन्त्रीको शपथ लिँदै तरिक रहमान

एजेन्सी

५, फाल्गुण २०८२
बंगलादेशमा प्रधानमन्त्रीको शपथ लिँदै तरिक रहमान

बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिँदै छन् । गत बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बीएनपीले दुई तिहाइभन्दा बढी सिटमा जित हासिल गरेपछि उनले सत्ताको नेतृत्व सम्हाल्न लागेका हुन् ।

images

ढाकास्थित संसद् भवनको दक्षिण प्लाजामा शपथ समारोह आयोजना गरिएको छ । बंगलादेशी सञ्चारमाध्यम ‘द डेलिस्टार’ का अनुसार बिहान १० बजे सांसदहरूको र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ हुने तयारी छ । ठूलो संख्यामा अतिथिहरू सहभागी हुने भएपछि यस पटक शपथ ग्रहण समारोह राष्ट्रपति निवास (बंगभवन) को सट्टा संसद्को खुल्ला क्षेत्रमा राखिएको हो ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनिसले शपथ समारोहका लागि नेपाल, भारत, चीन, पाकिस्तान र साउदी अरेबियासहित विभिन्न मुलुकका सरकार प्रमुखहरूलाई निम्तो पठाएका छन् । नेपालको तर्फबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा समारोहमा सहभागी हुन सोमबार नै ढाका पुगिसकेका छन् । भारतबाट लोकसभाका सभामुख ओम बिर्ला र पाकिस्तानबाट योजना मन्त्री असन इक्वा सहभागी हुने बताइएको छ ।

२ सय ९९ सिटमध्ये गणना भएका २ सय ९७ स्थानमा बीएनपीले २ सय ९ सिट जितेको छ । ३ सय प्रत्यक्ष र ५० आरक्षित गरी ३ सय ५० सदस्यीय संसद्मा यस पटक धेरै नयाँ अनुहार देखिनेछन् । बीएनपीका १ सय ३२ र जमात-ए-इस्लामीका ५९ सांसद पहिलो पटक निर्वाचित भएका हुन् ।

विद्यार्थी आन्दोलनका कारण डेढ वर्षअघि शेख हसिनाको सरकार ढलेपछि बंगलादेशमा यो निर्वाचन भएको हो । आन्दोलनका क्रममा १ हजार ४ सयभन्दा बढीको ज्यान गएको थियो भने हसिना हाल भारतमा निर्वासित छिन् । उनको दल अवामी लिगलाई यस पटक निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - ११:००:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology