बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई प्रहरीले रिहा गरेको छ । सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा उनलाई बिहीबार पक्राउ गरिएको थियो । यद्यपि उनीविरुद्धको अनुसन्धान जारी रहनेछ । बीबीसीका अनुसार बिहीबार साँझ जारी विज्ञप्तिअनुसार थेम्स भ्याली प्रहरीले एन्ड्रयुलाई ‘अनुसन्धानमै रहने गरी’ रिहा गरिएको हो ।
एन्ड्रयुको पक्राउप्रति प्रतिक्रिया दिँदै राजा चार्ल्स तृतीयले भने, ‘कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ ।’ उनले प्रहरीलाई आफ्नातर्फबाट ‘पूर्ण समर्थन र सहयोग’ रहेको पनि उल्लेख गरेका छन् ।
यौन अपराध गरेका अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित दस्तावेजमा एन्ड्रयु पनि जोडिएकाले उनी अनुसन्धानमा तानिएका हुन् । अमेरिकी सरकारले हालै जारी गरेको कागजातमा एपस्टिन र एन्ड्रयुबिचको कुराकानी पनि छ। दोषी ठहरिएमा ६६ वर्षीय एन्ड्रयुलाई आजीवन जेल हुन सक्छ ।
उनले सार्वजनिक पदको दुरुपयोग गरेको आरोप छ। एपस्टिन मुद्दाकी पीडित भर्जिनिया गिफ्रेले आफू १७ वर्षको छँदा सन् २००१ एन्ड्रयुले यौन शोषण गरेको आरोप लगाएकी छन् ।
यद्यपि एन्ड्रयूले आरोप अस्वीकार गरिरहेका छन् । गिफ्रेको भने २०२५ अप्रिलमा मृत्यु भइसकेको छ । जसलाई आत्महत्या भनिएको छ ।