Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चेपाङ समुदायका लागि चिउरी : खाद्यान्नदेखि पहिचानसम्मको आधार

चेपाङ समुदायका लागि चिउरी : खाद्यान्नदेखि पहिचानसम्मको आधार

इच्छाकामना न्युज

२६, आषाढ २०८३
चेपाङ समुदायका लागि चिउरी : खाद्यान्नदेखि पहिचानसम्मको आधार

कोराक । चितवनको पहाडी भेग भन्नेबित्तिकै धेरैको दिमागमा चेपाङ गाउँ र चेपाङ समुदायको याद आउँछ । हुन पनि चितवनका पहाडी भेगको अधिकांश भूभागमा चेपाङ समुदायकै बसोवास छ । वर्ष २०७८ को जनगणना हेर्ने हो भने पनि चितवनमा मात्रै चेपाङको जनसङ्ख्या ३५ हजार ६३७ छ । देशमा सबैभन्दा धेरै चेपाङको बसोवास भएको ठाउँ नै चितवन हो ।

images

चेपाङसँग चिउरीको सम्बन्ध पनि धेरैले सुन्दै आएको कुरा हो, त्यसकारण नयाँ विषय होइन । तर, चिउरीलाई चेपाङ समुदायले के–के विषयमा प्रयोग गर्छन् भन्ने कुरा भने नयाँ हुन सक्छ । अहिले चिउरी पाक्ने मौसम हो । कतिपय स्थानमा पाकेर पनि निख्रिसकेको छ । कतिपय ठाउँमा भने अहिले पनि पाकिरहेको छ ।

चेपाङ जाति आर्थिक हिसाबमा पिछडिएको हुनाले उनीहरुले एक मौसममा चिउरीलाई पनि मुख्य खाद्यान्नको रुपमा सदुपयोग गर्ने गरेका छन् । चिउरीको रस असाध्यै गुलियो हुने हुँदा धेरैलाई यसको स्वाद मन पर्छ । तर, चेपाङ समुदायले चिउरी खानका लागिमात्रै प्रयोग गर्दैनन् । चिउरीको जीवन रहेसम्म सदुपयोग गर्छन् ।

चिउरी खाइसकेपछि त्यसबाट निस्कने बियाँलाई तीन तरिकाले सदुपयोग गर्छन्, चेपाङहरु । सबैभन्दा धेरै बियाँ सुकाएर ग्रामीण परिवेशमै प्राङ्गारिक तरिकाले प्रशोधन गरेपछि घिउ (कसै–कसैले तेल पनि भन्छन्) बनाउँछन् । घिउ निकालिसकेपछिको पिनालाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्छन् । चिउरी खाइसकेपछिको बियाँलाई माला बनाउने तरिका पनि छ ।

बर्खाको समयमा पहाडी क्षेत्रमा पर्याप्त फूल नपाउँदा चेपाङ समुदायले चिउरीको बियाँकै माला बनाएर पाहुनालाई स्वागत गर्ने परम्परा छ । ‘अहिले फूल पाइँदैन । गाउँमा पाहुना आउँदा, सानोतिनो कार्यक्रम गर्दा चिउरीको बियाँको माला बनाएर लगाइदिन्छौँ’, राप्ती नगरपालिका वडा नं–११, चालिसेकी दिलकुमारी चेपाङ भन्छिन्, ‘हाम्रो समुदायलाई नौलो नभए पनि अन्य समुदायले नौलो मान्छन् ।’

चिउरी खाइसकेपछि बियाँलाई धोएर आलैमा धागो उनेपछि आकर्षक माला बन्छ । ‘हामीले यहीँको स्थानीय स्रोतसाधनलाई उपयोग गर्ने प्रयासमात्रै गरेका हौँ’, उनी भन्छिन्, ‘तर यसले त हामी चेपाङहरुको पहिचान पनि बोकेको रहेछ । धेरैले अचम्म मान्छन् ! रमाइलो पनि मान्छन् । पाहुना रमाएपछि हामी पनि त्यसै खुसी ।’

पहिलोपटक चिउरीको बियाँको माला लगाउन पाएपछि राप्ती–११, जिम्लिङमा एउटा कार्यक्रमका लागि आइपुगेका धनगढीका नीरज जोशीले अचम्म प्रकट गरे ! चेपाङ समुदायसँग खासै नजिक नरहेका उनी चितवन आउँदा एउटै कार्यक्रममा दुईथरी माला पाए । जिम्लिङका चेपाङहरुले उनलाई चिउरीको फलसहितको माला र बियाँको माला लगाइदिए ।

‘जीवनमा सबैभन्दा महत्त्वपूर्ण क्षण मानेको छु’, अधिकांश कार्यक्रमहरुमा खादा, फूलका माला र गुच्छाले मात्रै स्वागत गरेको देखेका उनले भने, ‘यो गाउँमा नआएको भए यति नयाँ विषय कहाँ देख्न पाउँथेँ र ?’ माला उनेको चिउरी पाकेर माला बिग्रिए पनि बियाँको मालालाई घरमा सजाएर राख्ने उनले योजना बनाएका छन् ।

विगत लामो समयदेखि चेपाङ समुदायको सेवा र संरक्षणमा लागेका गामबेँसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माको नजरमा चेपाङ समुदायले चिउरीलाई नै विभिन्न कोणबाट जीवन धान्ने उपायको रुपमा सदुपयोग गर्दै आएका छन् । चिउरीको बिरूवा उम्रिसकेपछि फल नलाग्दा घाँस, फल लागिसकेपछि केही दिनका लागि खाद्यान्नको काम गर्ने उनले बताए ।

फूल फुल्दा मौरीका लागि असाध्यै राम्रो सेंचन हुने हुँदा मौरी पाल्ने चेपाङले महबाट राम्रो आम्दानी गर्दै आएको उनले बताए । फल खाइसकेपछि निस्केको बियाँलाई घिउ, मल र मालाको रुपमा प्रयोग गर्ने हुँदा चेपाङका लागि चिउरी बहुउपयोगी वनस्पति भएको उनको भनाइ छ । ‘हामीले थाह पाउँदा चिउरीको फल पाकेपछि असाध्यै मीठो हुन्छ । गुलियो हुन्छ भन्ने मात्रै थियो तर यसभित्र धेरै गुण लुकेका रहेछन्’, उनले भने, ‘किसानी गर्नेलाई घाँस र मौरीका लागि मह उत्पादनमा राम्रो छ । हाँगाबिँगालाई दाउराको रुपमा पनि प्रयोग गर्न मिल्यो । सग्ला र ठूला हाँगालाई भने चेपाङहरुले काठको रुपमा समेत प्रयोग गर्ने गरेका छन् ।’

चेपाङ समुदायका लागि आहारा मानिएको चमेरोसमेत चिउरीकै रुखमा आश्रित हुने हुँदा चिउरी र चमेरोलाई चेपाङ समुदायसँग त्रिकोणात्मक सम्बन्धको रुपमा समेत हेर्ने गरिएको उनले बताए । चिउरीसँग चेपाङ जातिको सदियौँदेखिको सम्बन्ध भएकै कारण चेपाङ जातिको बसोवास भएको क्षेत्रमा चिउरीको बगैँचा नै हुने गरेको नेपाल चेपाङ संघ सङ्घीय परिषद्का अध्यक्ष गोविन्दराम चेपाङ बताउँछन् । पछिल्लो समय विभिन्न कारणले चिउरी नभएको क्षेत्रमा चेपाङ समुदायको बसोवास हुन थाले पनि इतिहास हेर्ने हो भने चिउरी नहुने ठाउँमा चेपाङ जातिको बसोवास नै नरहेको उनी बताउँछन् ।

‘कुनै समय चेपाङका लागि चिउरी नै जीवन धान्ने माध्यम थियो’, संविधानसभाका सदस्यसमेत रहेका संघका अध्यक्ष गोविन्दराम भन्छन्, ‘मैरै मामाले मेरी आमालाई दिनुभएको करिब ७० वटा बिरूवा चिउरी अझै पनि छ । त्यसबेला चिउरीलाई धेरै थरी तरिकाबाट आम्दानीको स्रोत बनाउन सकिन्थ्यो । त्यसकारण माइतीले पनि चेलीले दुःख नपाओस् भनेर चिउरीलाई नामसारी गरेरै दिने चलन थियो ।’

उनका अनुसार चरा मार्ने पासो बनाउन चोप निकाल्ने, बिहे र व्रतबन्धमा दुनाटपरी बनाउन चिउरीकै पात प्रयोग गर्ने, अरु बोटबिरूवाको पात झरिसक्दा पनि हरियो भइरहने हुँदा चौतारीको रुपमा प्रयोग गर्ने आदि गर्थे । चिउरीको दाउरा बाल्दा लामो समयसम्म आगो बसिरहने भएकोले जाडो महिनामा आगोकै भरमा चेपाङले रात कटाउने गरेको घटना अझै पनि रहेको उनी बताउँछन् । ‘अहिले पनि जाडोको मौसममा कतिपय चेपाङ न्यानो कपडाको अभावमा चिउरीकै दाउरा बालेर निदाउँछन्’, उनी थप्छन्, ‘त्यसकारण चिउरीको संरक्षण आजको आवश्यकता बनेको छ ।’

वनको तथ्याङ्कअनुसार चितवन, धादिङ र मकवानपुरमा गरी करिब १३ लाख बिरूवा चिउरीको मात्रै रहेको उनले बताए । ‘तर, त्योभन्दा धेरै होलाजस्तो लाग्छ’, उनले भने । चिउरी बिरूवा सारेर नसर्ने हुँदा आफैँ उम्रेको चिउरीलाई संरक्षण गर्नु आवश्यक रहेको उनको भनाइ छ । ‘जति बिरूवा छन् ती सबै पुस्तौँ पुराना हुन्’, उनी भन्छन्, ‘नयाँ बिरूवाको संरक्षण हुन सकेको छैन । बाख्राले पायो भने बोक्रा नै खुर्क्याएर खाइदिन्छ ।’

त्यसकारण नयाँ उम्रेको बिरूवा जोगाउनुपर्ने बेला भएको उनले बताए । अहिले उम्रेको नयाँ बिरूवा जोगाउन नसकेपछि आउने पुस्ताले चिउरीको महत्त्व नै नबुझ्ने जोखिम बढ्ने उनले बताए ।

images
प्रकाशित मिति :आषाढ २६, २०८३ शुक्रवार - १५:३०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology