नवलपुर। पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन् । गैंडाकोट नगरपालिका–१४ भागराबाट हराएका दुई वर्षीय बालक शिवान तामाङ बिहीबार जंगलमा फेला परेका हुन् ।
बालक हराएपछि स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा तीन दिनपछि घरबाट करिब चार किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार ५० घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको आवाज सुनेर सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको बताए । उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ । रोजगारीका क्रममा बालकका आमाबुवा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए ।
च्याउ टिपेर घर फर्किंदा नाति नदेखेपछि हजुरआमाले छिमेकीसँग सोधपुछ गरेको बताइन् । छिमेकीले तपाईाको पछि लाग्दै जंगलतिर नाति गएको भनेपछि खोजतलास सुरु भयो । तर, दुई रात बितिसक्दासमेत बालक फेला परेका थिएनन् । गाउँले र सुरक्षाकर्मीले हार मानेनन् । जंगलको भित्री क्षेत्रमा वन्यजन्तुले आक्रमण गरेको आशङ्कामा थप खोज्न सुरु गरे । मंगलबार एकाएक जङ्गलभित्र बालक रोएको आवाज आएपछि सबै जना खुसी भए । आवाज पछ्याउँदै जाँदा बालक सकुशल भेटिएको र उद्धार कार्यमा खटिएको टोली बालक भेटिएपछि ज्यादै भावुक बनेको एक सुरक्षाकर्मीले बताए ।