पोखरा । तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। तमु धिं नेपाल नयाँबजारमा बुधबार सम्पन्न समितिको १३औँ साधारण सभा तथा चौथो अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बालकुमारी गुरुङ, प्रथम उपाध्यक्षमा विष्णु गुरुङ, द्वितीय उपाध्यक्षमा आशाकासी गुरुङ, महासचिवमा रेखिमाया गुरुङ, सचिवमा नन्द गुरुङ र सह–सचिवमा चित्राकुमारी गुरुङ चयन हुनुभएको छ। यस्तै, कोषाध्यक्षमा टिका गुरुङ र सह–कोषाध्यक्षमा तारा गुरुङ रहनुभएको छ। सदस्यहरूमा जगन गुरुङ, दिलमाया गुरुङ, खिमकुमारी गुरुङ र योगमाया गुरुङ चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष गुरुङले समितिको विधानअनुसार संस्थाको हित र उद्देश्य प्राप्तिका लागि आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहयोग र सहकार्यबाट समितिलाई थप प्रभावकारी बनाउने अपेक्षा व्यक्त गर्नुभयो।
अधिवेशनको उद्घाटन तमु धिं नेपाल केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले आमाहरूलाई सामाजिक सञ्जालको प्रयोगमा समय कम खर्च गरी सीपमूलक गतिविधि, सामाजिक सेवा तथा समुदायको हितमा सक्रिय हुन प्रेरित गर्नुभयो।
कार्यक्रममा समितिका संस्थापक अध्यक्ष चन्द्रसुवा गुरुङ, गुरुङ धिं नेपाल कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ, क्षेत्रीय अध्यक्षहरूको प्रतिनिधित्व गर्दै तमु सहयोग समिति पार्दीका अध्यक्ष सुवेदार तुलबहादुर गुरुङ, तमु धिं नेपाल अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष श्याम गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो अवसरमा समितिलाई आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्ने सहयोगी दाता तथा सफल, सक्रिय र उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सभामा कोषाध्यक्ष आशाकासी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा महासचिव बालकुमारी गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।
समितिका निर्वतमान अध्यक्ष पवित्रादेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष एनसुभा गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव बालकुमारी गुरुङ र सचिव विष्णु गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।