काठमाडौँ। नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्। गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्याएको थियो।
बीबीसीका अनुसार यस प्राकृतिक विपत्तिमा परी तिब्बततर्फ अहिलेसम्म ५५० भन्दा बढी मानिस बेपत्ता भएको विवरण प्राप्त भएको छ। बेपत्ता हुनेहरूमध्ये २६० जना विदेशी पर्यटक र तीर्थयात्रीहरू रहेका छन्। ती विदेशीहरूमा पवित्र कैलाश मानसरोवरको दर्शनका लागि गएका तीर्थयात्रीहरूको ठूलो संख्या रहेको बताइएको छ।
हाल अधिकारीहरूले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बढिरहेको पानीको सतहलाई नजिकबाट नियालिरहेका छन्। भारी वर्षा जारी रहेकाले आगामी केही दिनसम्म बाढीको जोखिम अझै बढ्न सक्ने अनुमान गरिएको छ। थप क्षति हुन नदिन र सुरक्षा सुनिश्चित गर्नका लागि अहिले उक्त क्षेत्रमा मानिसहरूको आवतजावतमा समेत कडाइ गरिएको छ।