काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठले जेनजी आन्दोलनपछि पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन्।
लामो समय सार्वजनिक राजनीतिक गतिविधिमा कम देखिएकी श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
बौद्धिक तथा युवा नेतृका रूपमा परिचित श्रेष्ठको उम्मेदवारी घोषणासँगै काठमाडौं महानगरपालिकाको आगामी निर्वाचनलाई लिएर राजनीतिक चर्चा सुरु भएको छ।