गोरखा ६, जेठ । शहिदलखन गाउँपालिकाको वडा नम्बर ६ घैरुङ गाउँमा ३३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफनै नेतृत्वमा लिएर गएको स्वास्थ्यकर्मीको टोलीले आज घैरुङमा शकास्पद व्यक्तिहरुको एन्टिजेन परीक्षण गराएको हो । सो क्रममा ८ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
गृहजिल्लामा कोरोना संक्रमण भयावह बन्दै गएपछि आफै औषधी र चिकित्सक बोकर नागरिकको घरघरमा पुग्नु भएका प्रवक्ता श्रेष्ठको टोलीले आज शहिद लखन गाउँपलिकाको बिभिन्न टोलमा पुगेर नागरिकहरुको कोरोना परीक्षण गराउनु भएको हो । प्रवक्ता श्रेष्ठ गएको ४ दिनदेखि गोरखा जिल्लाका बिभिन्न क्षेत्रमा उच्च जोखिममा रहेका नागरिकहरुको एन्टिजेन परीक्षण, औषधी बितरण तथा संक्रमित व्यक्तिहरुलाई परार्मस दिन जुटी रहनु भएको छ ।
जिल्लाकोे पालुङटार नगरपालिकाबाट नागरिकहरुको स्वास्थ्य उपचारमा सुरु गर्नुभएको प्रवक्ता श्रेष्ठ सिरानचोक,अजिरकोट, बारपाक सुलिकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिका लगायतका क्षेत्रमा पुगिसक्नु भएको छ । सो क्रममा पालिकामा रहेका स्वास्थ्यकर्मीहरुले आवश्यक ठानेका नागरिकहरुमा परीक्षण गरिएको हो ।
परीक्षणसँगै परामर्श दिने र पालिकामा एन्टिजेन किट सहित प्रयोग तरिका सिकाउँदै डाक्टर सहितको टोली गोरखाका नागरिकहरुको जीवनरक्षार्थ काम गरिरहनु भएको छ । यसअघि एन्टिजेन परीक्षणका लागि गोरखा अस्पताल पुग्नु पर्ने र पहुँच हुनेले मात्र उक्त सुविधा पाउने व्यवस्था रहँदै आएको थियो ।