काठमाण्डौ, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको उल्लेख गर्दै गुरु पूर्णिमाको शुभकामना दिनुभएको छ । गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उहाँले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुमकामना व्यक्त गर्नुभएको हो ।
ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई पनि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको बताउनुभएको छ ।
उहाँले हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारिताको विकास गराउनेप्रति आदर सत्कार गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गुरु पूर्णिमा तथा व्यास दिवसको अवसरमा सबैमा शिक्षा, ज्ञान, चेतना र नैतिकताको सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।