याकराङ्ग, २६ असोज । चितवनको इच्छाकामना गाउँपालिका ६ याकराङ्गमा घटस्थापना देखि जारी स्वर्गीय सुर्य गुरुङ स्मृतिकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ घुमाउनेको पञ्चकन्या युवा क्लवले जितेको छ। सिद्धिविनायक युवा क्लव याकराङ्गको आयोजनामा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा जवाङ–दारेचोक एफसीलाई ०–१ गोल अन्तरले हराउदै तनहुँ घुमाउनेको पञ्चकन्या युवा क्लवले उपाधी जितेको हो।

उपाधीसँगै क्लवले ३० हजार रुपैयाँ नगद र कप हात पारेको छ। प्रतियोगितामा उपविजेता बनेको जवाङ–दारेचोक एफसीले पनि २० हजार रुपैयाँ नगद र कप हात पारेको छ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा पञ्चकन्या युवा क्लवका विनय मगर सम्मानित भएका छन् भने उत्कृष्ट गोलकिपरमा जवाङ–दारेचोक एफसीका गोविन्द गुरुङ, राइजिङ प्लेयरमा आयोजक सिद्धिविनायक युवा क्लवका मनिराज गुरुङ र सर्वाधिक गोलकर्ता (४ गोल) सिद्धदेवी युवा क्लव पाँचकिलोका राम गुरुङ पनि सम्मानित भएका छन्।

प्रतियोगिता सम्पन्न पश्चात भएको समापन कार्यक्रम इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष टेष्टकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रताप गुरुङ, ६ नं.का वडाध्यक्ष भुपेन्द्र चेपाङ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन देवकुमार गुरुङले गरेका थिए।

प्रतियोगिताका लागि स्वर्गीय सुर्य गुरुङको श्रीमती दिपिका गुरुङ र परिवारका साथै इच्छाकामना गाउँपालिकाले ५० हजार, अध्यक्ष गीता कुमारी गुरुङले व्यक्तिगत ३० हजार लगायतले अन्य दाताहरुले समेत आर्थिक सहयोग गरेको थियो।
