Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँकै सबैभन्दा अग्लो डाँडा छिम्कालेक र छिम्केश्वरीमा जान केबलकार निर्माण हुने

तनहुँकै सबैभन्दा अग्लो डाँडा छिम्कालेक र छिम्केश्वरीमा जान केबलकार निर्माण हुने

केवलकार निर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा भै डिपिआर गर्ने तयारी सुरु

इच्छाकामना न्युज

२६, मंसिर २०७८
तनहुँकै सबैभन्दा अग्लो डाँडा छिम्कालेक र छिम्केश्वरीमा जान केबलकार निर्माण हुने

तनहुँ, २६ मंसिर । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ ।

images

छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित केबुलकार निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । “केबुलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ,” उनले भने । छिम्केश्वरी माई मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन् थपिने शर्माले विश्वास व्यक्त गरे ।

छिम्केश्वरी केबुलकार परियोजनाको लागत रु एक अर्ब १० करोड रहने अनुमान गरिएको छ । परियोजनाले छिम्केश्वरीमा रिसोर्ट समेत निर्माण गर्ने लक्ष्य राखेको छ । तीन हजार ६०० मिटर लामो रहने केबुलकारले दैनिक १० हजार यात्री बोक्ने क्षमता राख्ने अध्यक्ष शर्माले बताउनुभयो । केबुलकार निर्माणका लागि पृथ्वीराजमार्गको खानीखोलामा २२ रोपनी जग्गा खरिद गरिसकिएको उनको भनाइ छ । थप २५ रोपनी हकभोग गर्दै आएको तर लालपुर्जा नभएका जग्गा नियमपूर्वक गाउँपालिकाको रोहवरमा खरिद गर्ने तयारी गरिएको छ ।

एक हजार ८00 मिटर पार गरेपछि खर्कमा केबुलकारको ट्रान्जिट स्टेशन रहनेछ । “यस ठाउँमा आकर्षक सांस्कृतिक रिसोर्ट निर्माण गरिनेछ, यो ठाउँ समुन्द्र सतहदेखि एक हजार २०० मिटरको उचाइमा अवस्थित छ,” उनले भने, “यहाँ ३० रोपनी जग्गा खरिद गरिसकिएको छ ।” हकभोग गरेको थप ६० रोपनी जग्गासमेत गाउँपालिकाको रोहवरमा नियमपूर्वक खरिद गर्ने प्रक्रिया अगाडि बढेको अध्यक्ष शर्माको भनाइ छ । “थप ४० रोपनी लालपुर्जा रहेको जग्गा खोजी कार्य गरेका छौं,” उनले भने, “सरकारसँग थप ५० रोपनी जग्गा लिजमा लिएर १९० रोपनी क्षेत्रफल जग्गामा अत्याधुनिक संस्कृति थिमपार्क रिसोर्ट बनाउने रणनीति छ ।”

तीन हजार ६०० मिटर पार गरेपछि माथिल्लो स्टेशनमा पुगिनेछ । त्यस ठाउँमा भने कम्पनीको नाममा जग्गा खरिद नगरिने बताइएको छ । नेपाल सरकारसँग एक सय रोपनी जग्गा लिजमा लिएर धार्मिक गतिविधिको केन्द्र बनाउने कम्पनीको रणनीति रहेको अध्यक्ष शर्माले बताए । यसै स्थानमा चर्चित देवी काली माँ छिम्केश्वरीको मन्दिर छ । केबुलकार निर्माणका लागि सबैखालका अनुमति प्राप्त भइसकेको र डीपीआर बनाउनका लागि सीआरएस इन्डियालाई जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै आईई प्रक्रिया अगाडि बढेको र निर्माण सुरु भएको दुई वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताइएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकन सहित दर्शन गर्न सकिन्छ ।

विशेष गरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् । पृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जिप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध, माछापुच्छ« लगायत हिमाल अवलोकन गर्न सकिन्छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सजिलोका लागि छिम्केश्वरीको काखमा घरवाससमेत सञ्चालनमा ल्याएको छ । पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरवास सञ्चालन गर्दै आएका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरवासमा आउनेलाई कोदो तथा फापरको ढिंडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरवास व्यवस्थापन समितिले जनाएको छ । हिलेखर्कका दुईवटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

त्यस्तै लाब्दी गाउँमा पनि घरवास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरवास व्यवस्थापन समिति गठन गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - २१:०४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology