Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सुनसरीमा बालुवाबाट लाखौँ कमाउँछन् अस्गर अली

सुनसरीमा बालुवाबाट लाखौँ कमाउँछन् अस्गर अली

न्युज कारखाना

५, माघ २०७८
सुनसरीमा बालुवाबाट लाखौँ कमाउँछन् अस्गर अली
images

प्रकाश तिम्सिना, सुनसरी, ५ माघ । कोशी गाउँपालिका–५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको स्रोत नै धान बाली थियो । परिवारलाई वर्षभरि पुग्ने धान राखेर उनी अरू बिक्री गर्थे । तर, २ भदौ २०६५ मा कोशी नदीले बाँध फुटाएर जब खेती योग्य जमिनमा पस्यो, तब उनको सबै सपना उडाइदियो । 

images
images

कोशीको बाढीले बगाएपछि घर खर्च चलाउन समस्या नहुने उनलाई कसरी घर चलाउने भन्ने चिन्ता थियो । १३ वर्षसम्म आफ्नो जग्गामा बालुवाबाहेक केही नदेखेका अस्गर अहिले भने त्यही बालुवा उनको आम्दानीको गतिलो स्रोत बनेको छ । 

दुई वर्षअघि भारतको राजस्थान भ्रमण गरेर बालुवामा कागती खेती सुरु गरेका उनले अहिले दुई बिघामा सुन कागती लगाएका छन् । गाउँपालिकाले बिरुवा, पानी तान्ने मोटरपप्प सहयोग गरेपछि उनी कागती खेतीमा लागेका छन् । डेढ वर्षको अवधिमा उनले बालुवामा कागती फलाएर एक लाख ५० हजार आम्दानी समेत गरिसकेका छन् । 

धान फल्ने खेत बालुवामा परिणत हुँदा मनमा तनाव लिने अस्गर अहिले भने त्यही बालुवामा आम्दानीको गतिलो सपना देख्न थालेका छन् । सुरुमा दुई बिघाबाट थालेको कागती खेती उनले चार बिघामा लगाएका छन् । 

अस्गर जस्तै सोही ठाउँका साहबुद्दिन हाक पनि कागती खेतीमा लागेका छन् । १० वर्ष विदेश बसेर आएका उनी अहिले दुई बिघा क्षेत्रफलमा कागती खेती गरेका छन् । उत्पादन र बिरुवा राम्रो भएपछि आफ्नो चार बिघामा जग्गामा कागती खेतीसमेत लगाउने तयारीमा छन् । 

सुरु देखि नै बिरुवा राम्रो भएपछि उनी कागती खेतीलाई अझ बढाउने तयारीमा छन् । नदीले बगर बनाएको खेतीलाई १३ वर्ष बाँझो देखेर विरक्तिएका हाक अहिले भने विदेशमा भन्दा राम्रो कमाइ हुने आशमा लागि परेका छन् । 

‘अहिले मलाई विदेशमा भन्दा धेरै कमाइ हुन्छ जस्तो लागेको छ । विदेशमा बिहान ८ बजेदेखि राति १० बजेसम्म काम गर्नु पर्थ्यो । मनमा चिन्ता उस्तै हुने, अहिले आनन्द छ । घरको खाएर आफ्नै बारीमा मेहनत गर्न पाउनु भाग्यको कुरा हो । म खुसी छु,’ उनी भन्छन् ।

कोशी गाउँपालिकाको तथा प्रधानमन्त्री कृषि आधुनिकीकरणले उक्त कागती खेतीका लागि कृषकलाई बिरुवा खरिद गर्न, घेरा बारा, विषादी तथा मोटरपम्पसमेत सहयोग गरेको छ । कोशी गाउँपालिका अध्यक्षसहितको टोलीले भारतको राजस्थान भ्रमण गरेर आएदेखि उनै अध्यक्ष ऐयुब अन्सारीले किसानलाई प्रोत्साहन गर्दे बालुवामा कागती खेती गरे गाउँपालिकाले सहयोग गर्ने बताएका थिए । उनकै विश्वासका कारण धेरै किसानले बालुवामा पैसाको सपना देख्न थालेका हुन् । 

सुख्खा मरूभूमिमा कागती खेती फस्टाएपछि गाउँपालिकाले ड्रागन खेती गर्ने समेत योजना रहेको कृषि शाखा प्रमुख सुनिलकुमार शाहले बताए । उनले बालुवामा लगानी गरेर धेरै किसानले आर्थिक स्तर उकास्न थालेको उदाहरण दिँदै गर्छु म सक्छु भन्ने कृषकलाई गाउँपालिकाले समेत सहयोग गर्ने  बताए । 
दुई वर्षअघिसम्म अस्गर र साहबद्दिनले मात्र खेती गर्दै आएका थिए । दुई बिघाबाट सुरु भएको खेती अहिले सोही ठाउँका पाँच जना कृषकले २२ बिघामा लगाएका छन् । 

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - ०८:४८:०८ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology