दिपेन्द्र अधिकारी, भरतपुर, २० माघ । इच्छाकामना गाउँपालिका वडा नं–२ का सन्तबहादुर चेपाङ उमेरले १८ वर्षका भए । बैंकले नागरिकता नभए भत्ता नदिने भनेपछि सन्तबहादुरलाई भरतपुरसम्म झर्न प¥यो । अबोध रहेका उनलाई आफ्ना बुबाले गाडीको बाटोसम्म ल्याउन बिहान सबेरै ३ बजे उठाए । पछ्यौरीको सहायताले सन्तबहादुरलाई बोकेर उनका बुबा पृथ्वीमान चेपाङले ६ बजे गाडी भए ठाउँमा झारे । उनलाई कुरिबसेका थिए अर्का अभिभावक, चन्द्रबहादुर चेपाङ ।
उनको पनि छोरीको उस्तै समस्या । १७ वर्षकी उनकी छोरी राममायालाई पनि नागरिकता नभए भत्ता नपाउने भनेपछि दुवैजना एउटै समस्यामा परेका थिए । दुवैजना हिँडडुल र बोलचाल गर्न सक्दैनथे । दिसापिसाब पनि सुतेकै ठाउँमा गर्ने उनीहरुको शारीरिक अवस्थाले गर्दा अभिभावकले खानेकुरा पनि नदिई भरतपुरसम्म ल्याएका थिए । ‘नचिनेको ठाउँमा दिसापिसाब गर्न/गराउन असहज हुने भएकाले भोकै ल्याएको सन्तबहादुरका बुबा पृथ्वीमान चेपाङले भने । नागरिकता बनाएर घर पुग्दा रातको दस बजेको चन्द्रबहादुर बताउँछन् । आउने र जाने गर्दा ३/३ घन्टा छोरालाई बोकेर गाडी भएको ठाउँसम्म पुगेको पृथ्वीमानको भनाइ छ ।
नागरिकता अभावमा भत्ताबाटै वञ्चित हुने भएपछि उनीहरुले वडा अध्यक्ष पञ्चबहादुर चेपाङलाई भेट्न पुगे । वडा अध्यक्षले नागरिकता बनाउन आवश्यक सबै प्रक्रिया पूरा गरिदिए, तर भरतपुरसम्म आउनका लागि कुनै खर्च थिएन । उनै वडा अध्यक्षले आफ्नै खर्चमा गाडी रिजर्भ गरेर दुई जना अशक्त अवस्थाका बाबुनानीलाई भरतपुरसम्म पठाए ।
‘खर्चपर्च केही छैन, गरिब दुःखी मान्छे हुन्, नागरिकता बनाउन जान पनि खर्च नभएकाले मेरै खर्चमा पठाएर नागरिकता बनेको छ’, वडा अध्यक्ष पञ्च चेपाङले भने । गाउँमा अझै पनि नागरिकता चाहिन्छ भन्ने चेतना नभएको र चेतना भए पनि गरिबीका कारण सदरमुकाम भरतपुरसम्म गएर नागरिकता बनाउन पहाडी भेगका चेपाङ समुदाय असमर्थ रहेको वडा अध्यक्ष बताउँछन् । पहिलेपहिले गाउँमै शिविर आउँदा सहज भएको उनको भनाइ छ ।
तत्कालै नागरिकता
शारीरिकरुपमा पूर्ण अशक्त दुई जनाको जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार तत्कालै नागरिकता दियो । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रशासनसम्म आउजाउ गर्न असमर्थ व्यक्तिहरुलाई सम्बन्धित ठाउँमै पुगेर सेवा दिनुपर्नेमा त्यस्तो गर्न नसकेकोमा दुःख व्यक्त गरे । अघिल्लो वर्ष न्यायालयले नागरिकता शिविर राख्न नपाउने भनी निर्णय गरेको थियो । ‘अरु सेवाग्राहीलाई भन्दा प्राथमिकतामा राखेर उनीहरुलाई नागरिकता दिइयो’, सहायक सिडिओ चिरञ्जीवी शर्माले भने, ‘प्रशासनबाट सकेको सहयोग हुन्छ ।’ चितवनपोष्टबाट
#दुई अशक्त बाबुनानीलाई नागरिकता दिँदै चितवनका प्रजिअ अस्मान तामाङ र सहायक प्रजिअ चिरञ्जीवी शर्मा ।








