रविन विश्वकर्मा, रुकुम पूर्व, २३ माघ । गत बुधबारदेखि देशैभरको मौसममा परिवर्तन आएको छ । पश्चिमी न्यून चापीय प्रणालीकोे प्रभावका कारण उच्च पहाडि तथा हिमाली क्षेत्रका अधिकांश स्थानमा हिउँ परेको छ ।
हिमपातका कारण जनजीवन कष्टकर भएको भएपनि पाखो खेतबारीमा लगाएको खेतीबालीलाई भने सिँचाई पुगेको छ । जसका कारण पहाडी तथा हिमाली क्षेत्रका किसान खुशी भएका छन् ।रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ दादिङका दल बहादुर घर्तिले ५ रोपनी जग्गामा गहुँ, जौँ खेति गर्नुभएको छ ।
पाखो जमिनमा लगाएको गहुँ सुक्ने अवस्थामा पुगेको बेला हिउँ परेपछि राहत मिलेको उहाँ बताउनुहुन्छ । रुकुम पूर्वका तीन वटै स्थानीय तहमा हिमपात भएको छ, डाँडाहरू हिउँले सेताम्य भएका छन् ।
माघ महिनामा परेको हिउँले फलफूल लगायतका खेतीबालीमा सहयोग पुग्ने भुमे गाउँपालिका ६ महतका किसान सविना बुढाको भनाइ छ । सिँचाईको अभाव रहेको रुकुम पुर्वका अधिकांश पाखो जमिनमा आकाशे पानीको भरमा खेति गरिन्छ । हिउँदे बाली नसप्रिए हिमाली जिल्लाहरुमा खाद्य सङ्कट पर्ने सम्भावना रहन्छ ।
यस पटकको हिउँले हिउँदे बालीसँगै हिउँदे फलफूलको उत्पादनमा बढ्न सक्ने अपेक्षा गरिएको छ । हिउँले जनजीवन प्रभावित बनाएको भएपनि अहिले परेको हिउँको चिस्यान चैत वैशाखसम्म कायम रहने हुँदा किसान भने खुसी भएका छन् ।