Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

स्थानीय तह निर्वाचन : सरकारलाई खर्च जुटाउन कठिन हुदै

स्थानीय तह निर्वाचन : सरकारलाई खर्च जुटाउन कठिन हुदै

इच्छाकामना न्युज

१२, फाल्गुण २०७८
स्थानीय तह निर्वाचन : सरकारलाई खर्च जुटाउन कठिन हुदै
images

काठमाडौं, १२ फागुन । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारलाई चुनावी खर्च जुटाउन समस्या परेको छ ।

images
images

अर्थ मन्त्रालयले चुनावका लागि चालू आर्थिक वर्ष (आव) को बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएको छ । तर, निर्वाचन आयोगलगायत निकायबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम माग भएपछि स्रोतको जोहो गर्न समस्या परेको हो । माग गरिएअनुसारको बजेट जोहो गर्न मन्त्रालयले दिनहुँजसो विभिन्न दातृ निकायसँग हारगुहार गरे पनि दाताहरू सहयोग गर्न अनिच्छुक देखिएका छन् ।

दातृ निकायबाट सहयोग जुटाउन ठूला साझेदार संस्था विश्व बैंक, एशियाली विकास बैंक, आईएमएफजस्ता निकायसँग मन्त्रालयका अधिकारीहरूले छलफल गरिरहेका छन् । यस्तै भारत, चीन, अमेरिका, बेलायत, जर्मनी जस्ता राष्ट्रका राजदूतसँग पनि चुनावी स्रोत जोहोका लागि सरकारले लबिङ गरिरहेको अर्थका एक उच्च अधिकारीले बताए ।

अघिल्लो साता मन्त्रालयमा विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर, कार्यकारी निर्देशक मोहम्मद हसन, नेपालसहित माल्दिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक फारिस हादाद जार्भोस लगायतसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि सहयोग गर्न आग्रह गरेका थिए । शर्माको यस्तो आग्रहपछि दातृ निकायका अधिकारीहरूले खासै प्रतिक्रिया नजनाएको स्रोतले बतायो ।

नेपालका लागि साउदी अरेबियाका राजदूत मुसिद सुलेमान एम अलमारवानीले गत साता नै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेका थिए । त्यसै साता नेपालका लागि इजरायलका राजदूत हनान गोडर, नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत थोमस प्रिन्जसँग पनि खड्काको भेटवार्ता भएको थियो ।

उनीहरूबीच विकास सहयोग, व्यापार, लगानी र द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै आगामी वैशाखमा हुने चुनावका लागि परराष्ट्र मन्त्री खड्काले उनीसँग आर्थिक सहयोगका लागि आग्रह गरेको परराष्ट्र स्रोतले बतायो ।

दुई दिनअघि एक टेलिभिजन अन्तरवार्तामा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले एक राजदूतले ५० अर्ब रुपैयाँको अनुदान नचाहिने मुलुकका लागि सहयोग नचाहिने आफूसँग बताएको खुलासा गरेका थिए । खासगरी एमसीसीका बारेमा गठबन्धन सरकारमा रहेका दलहरू नै विभाजित भएपछि दाताहरू चिढिएको बताइन्छ ।

मन्त्रालयका उपसचिव हरीशचन्द्र ढकालले चुनावी खर्चको जोहोलगायतका समग्र पक्षमा सहयोग गर्न निरन्तर छलफल भइरहेको बताए । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले अर्थलाई ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट निकासका लागि पत्र पठाएको छ ।

यो २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भन्दा करीब ८१ करोडले बढी हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बजेट निकासाका लागि अर्थलाई पत्र पठाइसकिएको जानकारी दिए । गृह मन्त्रालयले पनि चुनावी खर्चको प्रस्ताव गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - ०८:२०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology