शिव उप्रेती, आँबुखैरेनी, १५ फागुन । गोरखा र तनहूँको सीमानास्थित मस्र्याङ्दी नदीमा मापदण्ड र सम्झौताविपरीत नदीजन्य सामग्री उत्खनन भइरहेको छ । तनहूँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत ढापाटार पुलमुनि ठेक्का नलगाएको ठाउँबाट एक्साभेटर मेसिन प्रयोग गरी बालुवा उत्खनन भइरहेको छ । कुँडुलेघाट, नारीघाट र शाहघाटमा पनि नदीजन्य बस्तु उत्खनन सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनलाई पाखा लगाई पानीभित्रै एक्साभेटर प्रयोग गरी नदी दोहन भइरहेको छ ।

ठेकेदार कम्पनीले ऐन, कानून मिचेर दिनदहाडै नदी दोहन गर्दा पनि गाउँपालिका, प्रहरी प्रशासन, जिल्ला समन्वय समिति तथा स्थानीयबासी मुकदर्शक भइरहेका छन् । आँबुखैरेनी गाउँपालिकाले वडा नं. १ को सत्रसयघाट, वडा नं. २ को नारीघाट र वडा नं. ३ को कुँडुलेघाटमा नदीजन्य सामग्री उत्खनन्को ठेक्का लगाएको गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापा बताउँछन् ।
कुनैपनि घाटमा मेसिन प्रयोग गरेर उत्खनन गर्ने अनुमति नदिइएको उनको भनाइ छ । ‘मस्र्याङ्दी वारि तनहूँ, पारि गोरखा हो । गोरखा नगरपालिकाले मेसिन प्रयोग गर्ने अनुमति दिएको रहेछ । त्यसको देखासिकी गरेर हाम्रोपट्टि पनि मेसिन लगाएका हुनसक्छन्’, अध्यक्ष थापा भन्छन्, ‘मैले प्रहरीलाई अनाधिकृत उत्खनन भएमा नियन्त्रणमा लिएर कारबाही गर्न भनिरहेको छु । तपाईँहरुले पनि भनिदिनुस् ।’

वातावरण संरक्षण ऐन तथा नियमावली २०७७ मा झोलुङ्गे पुलको तीनसय मिटर वरपर र पक्की पुलको पाँचसय मिटर वरपर नदीजन्य सामग्री उत्खनन गर्न नपाइने उल्लेख छ । पालिकाले तयार गरेको आईईई प्रतिवेदनमा पनि सोही उल्लेख छ तर छिम्केश्वर मनकामना कन्स्ट्रक्शन कम्पनी र जर्नो कन्स्ट्रकशनले बिगत एकसातादेखि निषेधित ठाउँहरुमा मापदण्ड मिचेर उत्खनन गरिरहेका छन् ।
गोरखा नगरपालिका वडा नं. १३ र १४ तथा आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित ढापाटार पुलमुनि छिम्केश्वरी मनकामना कन्स्टूक्शनमार्फत आफूले उत्खनन् गरेको हिमाल थापाले जानकारी दिए ।
‘नगरपालिकाबाट ८२ लाखको ठेक्का लिएको हो । कार्यालयले पुलमुनि ठेक्का लगाएको त छैन तर यो क्षेत्रमा सबैभन्दा धेरै बालुवा यहीँ छ । अन्यत्र उत्खनन गर्ने ठाउँ नै छैन । लिखितमा जे भने पनि बिगत बर्षदेखि नै यहीँ उत्खनन् भइरहेकाले हामीले पनि उत्खनन गरेको हो’, उनी भन्छन्, ‘ढापटार टोलविकास सँस्थाको अनुमति लिएर उत्खनन गरेको हो । संस्थाको अध्यक्ष नै मै हुँ । बिगतमा पनि उत्खनन् भएकै हो । यसपटक मलाई पनि सबैको सहयोग र समर्थन छ ।’ यहाँ उत्खनन गर्न गाउँलेले अनुमति दिएबापत गाउँमा आठलाख रुपैयाँ बराबरको सडक, सामुदायिक भवन, मन्दिर, खानेपानी, कल्भर्ट निर्माणमा सहयोग गरिदिने उनले बताए ।

त्यस्तै गोरखा नगरपालिका १३ र १४ तर्फको किनारमा स्थानीय काजी अधिकारीले अवैध उत्खनन गरिरहेका छन् । गाउँलेले उत्खनन गर्न दिएबापत स्थानीय मुलपानी टोल, शिवालय टोल र कृष्णमन्दिर टोलमा सडकलगायतका संरचना बनाइदिने सहमति भएको मुलपानी टोल विकास संस्थाकी अध्यक्ष पशुपति अधिकारीले जानकारी दिइन् ।
‘नियमविपरीत पुलमुनि जबर्जस्ती बालुवा झिक्न थालेको सात बर्ष भयो’, अधिकारी भन्छिन्, ‘पहिलेपहिले हामीले जति बिरोध गरेपछि चोरहरुले रातारात बालुवा चोरेर लान्थे । पछिपछि दादागिरी गरेर दिउँसै चोरेर लान थाले । त्यस्सै चोरेर लान भन्दा अलिअलि भनेपनि गाउँको विकास हुन्छ भनेर हामीले सहमति दिएका हौँ ।’

जिल्लाका सिडियो, नगरपालिकाका मेयर, प्रहरी सबैलाई गुहार गर्दा पनि कसैले चासो नदिएको उनको गुनासो छ । ‘मलाई थुन्न लगे पनि लैजाउन्, मलाई प्रकस्ट थाहा छ, बालुवा चोर्न साना पुलिसमात्रै होइन, सिरानदेखि नै सप्पै मिल्दा रहेछन्’, उनले भनिन् ।
कुँडुलेघाटमा एक्साभेटर लगाएर उत्खनन् गरिरहेको जर्नो कन्स्टूक्शनको तर्फबाट कामको जिम्मा लिएका अभियान कन्स्टूक्शनका सञ्चालक अभियान श्रेष्ठ स्वीकार गर्छन् । ‘गोरखातिरको घाटमा धमाधम मेसिन लगाएर झिकिरहेको हुन्छ, हामी मात्र साबेलले उठाएर यत्रो बालुवा उठाउन सम्भवै छैन’, श्रेष्ठ भन्छन्, ‘त्यसैले एक्साभेटर लगाएर उत्खनन गरेको हुँ ।’
प्रहरी मात्र खटिएर नदी दोहन समस्या समाधान नहुने इलाका प्रहरी कार्यालय आँबुखैरेनीका इन्स्पेक्टर निरज डाँगीको भनाइ छ । त्यसका लागि गाउँपालिका कार्यालयको पनि उत्तिकै चासो र सक्रियता आवश्यक पर्ने उनको तर्क छ । दरौदी दैनिकबाट