Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

फर्केर हेर्दा इच्छाकामनाको स्थानीय तह निर्वाचन : अधिंकाशमा काँग्रेस र एमाले बिच कडा प्रतिस्पर्धा

फर्केर हेर्दा इच्छाकामनाको स्थानीय तह निर्वाचन : अधिंकाशमा काँग्रेस र एमाले बिच कडा प्रतिस्पर्धा

चित्र बहादुर गुरुङ

२, चैत्र २०७८
फर्केर हेर्दा इच्छाकामनाको स्थानीय तह निर्वाचन : अधिंकाशमा काँग्रेस र एमाले बिच कडा प्रतिस्पर्धा
images

कुरिनटार, १ चैत । स्थानीय तहको नयाँ निर्वाचनका लागि सार्वजनिक भएको मिति पनि नजिकिदै आएको छ। सरसर्ती हेर्दा आजको ठ्याक्कै ६० दिन भित्र नयाँ निर्वाचन हुनेछ। 

images
images

हाल रहेको जनप्रतिनिधीको कार्यकाल लगभग अन्तिम समयमा आएको छ। निर्वाचनको मिति नजिक आएसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ। यतिबेला गाउँघरमा कसले टिकट पाउँछ अनि कसले जित्छ भन्ने आकलन सुरु हुन थालिसकेको छ।

गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने यसपटक पनि चितवनको एकमात्र गाउँपालिका हो इच्छाकामना। जिल्लाको ७ वटा स्थानीय तह मध्य नेपाली काँग्रेसको साख जोगाइदिएको एकमात्र स्थानीय तह इच्छाकामना गाउँपालिका हो।

जिल्लाको तात्कालिन ४ वटा पहाडी गाविस मिलेर इच्छाकामना गाउँपालिका बनेको हो । राजनैतिक हिसाबले त्यसबेलाका पहाडी गाविसहरुमा एमालेको राम्रै मत खस्ने गरेको थियो । यहि आकलनबाट इच्छकामनामा एमालेले जित्छ भन्ने धेरैको अनुमान विपरित २०७४ सालको स्थानीय तहको निर्वाचनमा कडा प्रतिस्पर्धा बिच १९३ मतले नेपाली काँग्रेसको उम्मेद्वार बिजयी भएको थियो।

गाउँपालिकाको अध्यक्षमा ५ जना प्रतिस्पर्धी भएकोमा नेपाली काँग्रेसबाट गीता कुमारी गुरुङले ३२५४ मत ल्याई बिजयी भएका थिए। उक्त पदमा नेकपा एमालेका उम्मेद्वार नारायण अधिकारीले ३०६१ मत, नेकपा माओवादी केन्द्रका उम्मेद्वार प्रताप गुरुङले २३९९ मत, नयाँ शक्ति पार्टीका उम्मेद्वार अमर बहादुर गुरुङले २७ मत र नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार पदम थापा मगरले १५ मत ल्याएका थिए।

गाउँपालिकाको उपाध्यक्षमा पनि ३ जना प्रतिस्पर्धी भएकोमा नेपाली काँग्रसकै उम्मेद्वार कृतिकुमार श्रेष्ठले ३३८९ मत ल्याई बिजयी भएका थिए। उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार जुना राजभण्डारीले ३०९७ र माओवादी केन्द्रका उम्मेद्वार सावित्रा सिलवालले २२२९ मत प्राप्त गरेका थिए।

यसैगरी वडाहरुमा ३ वटा वडामा नेकपा एमालेका उम्मेद्वारले, ३ वटा वडामा नेपाली काँग्रेसका उम्मेद्वारले र १ वटा वडामा नेकपा माओवादी केन्द्रका उम्मेद्वारले जित हासिल गरेको थियो।

वडा नं. १ मा ४ जना प्रतिस्पर्धी मध्य नेकपा एमालेका उम्मेद्वार नन्दलाल गिरीले ४१९ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ नेपाली काँग्रेसका उम्मेद्वार मन बहादुर प्रजाले २२७ मत, नेकपा माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर मगरले २४२ मत र मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का उम्मेद्वार सुन बहादुर चेपाङले २ मत प्राप्त गरेका थिए। 

वडा नं. २ मा ३ जना प्रतिस्पर्धी मध्य नेकपा एमालेका उम्मेद्वार पंच बहादुर चेपाङले ४५९ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ नेपाली काँग्रेसका उम्मेद्वार एक बहादुर अधिकारीले २५९ मत र नेकपा माओवादी केन्द्रका उम्मेद्वार प्रकाश बुढाथोकीले ३८२ मत प्राप्त गरेका थिए। 

वडा नं. ३ मा ३ जना प्रतिस्पर्धी मध्य नेकपा माओवादी केन्द्रका उम्मेद्वार गोवद्र्धन अधिकारीले ५६२ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ नेपाली काँग्रेसका उम्मेद्वार माधव बहादुर घिमिरेले ५०३ मत र नेकपा एमालेका उम्मेद्वार नर बहादुर नेपालले ४५९ मत प्राप्त गरेका थिए।

वडा नं. ४ मा ३ जना प्रतिस्पर्धी मध्य नेपाली काँग्रेसका उम्मेद्वार स्वर्गीय होम बहादुर रानाले ४४० मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ नेकपा माओवादी केन्द्रका उम्मेद्वार खड्ग बहादुर मगरले ४०३ मत र नेकपा एमालेका उम्मेद्वार रामप्रसाद त्रिपाठीले ४१९ मत प्राप्त गरेका थिए। 

वडा नं. ५ मा ३ जना प्रतिस्पर्धी मध्य नेपाली काँग्रेसका उम्मेद्वार मोदराज सिलवालले ५७३ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ नेकपा माओवादी केन्द्रका उम्मेद्वार रामप्रसाद जैसी बोहोराले २५५ मत र नेकपा एमालेका उम्मेद्वार कुमार श्रेष्ठले ४९३ मत प्राप्त गरेका थिए। 

वडा नं. ६ मा ३ जना प्रतिस्पर्धी मध्य नेकपा एमालेका उम्मेद्वार भूपेन्द्र चेपाङले ५६३ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ नेपाली काँग्रेसका उम्मेद्वार विराज गुरुङले ३७१ मत र नेकपा माओवादी केन्द्रका उम्मेद्वार ठुलकान्छा मगरले २३० मत प्राप्त गरेका थिए। 

वडा नं. ७ मा ३ जना प्रतिस्पर्धी मध्य नेपाली काँग्रेसका उम्मेद्वार बम बहादुर थापाले ९१८ मत प्राप्त गरी अध्याधिक बहुमतले जित हासिल गरेका थिए। यहि वडामा नेपाली काँग्रेसले अध्याधिक मत ल्याउन सफल भएपछि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित हासिल गर्न सफल भएको थियो। जहाँ नेकपा माओवादी केन्द्रका उम्मेद्वार वोध बहादुर गोलेले १२९ मत र नेकपा एमालेका उम्मेद्वार जमानसिंह गुरुङले ४३२ मत प्राप्त गरेका थिए। 

यसरी २०७४ सालको स्थानीय तहलाई सरसर्ती नियाल्दा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा भएको देखिन्छ भने तेस्रो स्थानमा माओवादी केन्द्र देखिन्छ। यसैगरी वडाहरुमा १ र २ वडा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बलियो देखिएको थियो भने नेपाली काँग्रेस कमजोर देखिएको थियो।

वडा नं. ३ मा भने नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच प्रतिस्पर्धा देखिएको थियो भने नेकपा एमाले कमजोर देखिएको थियो ।

बाँकी वडाहरु ४, ५, ६ र ७ मुख्यतयः नेकपा एमाले र नेपाली काँग्रेस बिच नै प्रतिस्पर्धा भएको देखिएको थियो भने वडा नं. ४ मा नेकपा माओवादी केन्द्र तेस्रो भएपनि उसको अवस्था पनि त्यति कमजोर नभै अरु दललाई टक्कर दिन सक्ने खालको नै देखिएको थियो। यस्तै वडा नं. ५, ६ र ७ मा भने माओवादी केन्द्र निकै कमजोर देखिएको थियो।

इच्छाकामना गाउँपालिकामा २०७४ को उक्त निर्वाचनलाई मिहिन पाराले हेर्ने हो भने नेकपा एमालेले जित्ने निर्वाचन पनि हारेको प्रष्ट देखिन्छ। यसमा नेकपा एमालेलाई आन्तरिक द्वन्द्वले राम्रै घाटा पुगेको देखिन्छ। किनकी १ वटा वडा बाहेक अध्यक्ष उपाध्यक्ष सहित ६ वटै वडामा नेकपा एमाले राम्रै मत सहित दोस्रो स्थानको मत ल्याई विजयी हुने दलसँग प्रतिस्पर्धा गरेको देखिन्छ। 

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - ०९:४२:३२ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology