आँबुखैरेनी, ४ वैशाख । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएको छ। त्यसै पनि उम्मेद्वारी दर्ता गर्ने मिति झन् सम्मुखमै आईसकेको छ। तर वडा तहसम्मै तालमेल गरेर निर्वाचनमा जाने भनेको सत्ता गठबन्धन दलहरु अझै निर्णयमा पुग्न नसक्दा गठबन्धन के होला भन्नेमा अन्यौल छ।
सत्ता साझेदार दलहरु बिच गठबन्धन गर्ने निर्णय भैरहदा स्थानीय तहका नेता कार्यकर्ताले भने नमान्ने सम्भावना बढ्दै गएको छ। यस्तै मध्यको एक हो तनहुँको आँबुखैरेनी गाउँपालिका।
हाल गठबन्धन गर्ने भनेको दल मध्य गत स्थानीय तह निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष उपाध्यक्ष सहित ५ वटा वडामा जित हासिल गरेको थियो। उक्त निर्वाचनको नतिजा अनुसार काँग्रेसले कार्यपालिका र गाउँसभा दुई तिहाइसम्मको बहुमत प्राप्त गरेको थियो।
यस्तै सत्ता गठबन्धन घटक अर्को दल नेकपा माओवादी केन्द्रले वडा नं. १ मा एउटा वडा सदस्य बाहेक अन्यमा जित निकाल्न सकेन। यद्यपी वडा नं. १ र २ मा दोस्रो दलको रुपमा मत पाएको थियो।
यसैगरी अर्को दल जनता समाजवादी पार्टीले वडा नं. ६ मा मात्र वडाध्यक्षको उम्मेद्वारी दिएको थियो भने आँबुखैरेनीमा वडा नं. ६ का १ जना वडासदस्य बाहेक कोही पनि नेकपा एकिकृत समाजवादी पार्टीमा एमाले छोडेर गएन। यसर्थ यस गाउँपालिकामा जसपा र नेकपा एस अत्यन्तै कमजोर देखिन्छ।
आँबुखैरेनीमा सत्ता घटक ५ दल मध्य ४ दल रहेकोमा २ दल अत्यन्त कमजोर उपस्थिति रहेको छ। अत्याधिक बहुमतका साथ बलियो रहेको नेपाली काँग्रेसले लचकता नअपनाउने हो भने आँबुखैरेनीमा गठबन्धन हुने सम्भावना कम देखिन्छ ।
नेपाली काँग्रेस आँबुखैरेनीमा अत्याधिक बलियो रहेकोले एक्लै चुनाव लड्नुपर्नेमा अधिंकाश नेता कार्यकर्ताको चाहना छ। तर गठबन्धन गर्नुपरे कम्तीमा पनि ३ वटा वडा काँग्रेसले गुमाउनुपर्ने देखिन्छ भने उस्तै परे उपाध्यक्ष पद समेत काँग्रेसले नपाउन सक्छ। त्यसो भएमा स्थानीय कार्यकर्ता बिच्किन सक्ने सम्भावना बढि छ र जसको क्षति आगामी दिनमा काँग्रेसलाई राम्रै पर्ने देखिन्छ।
किनकी स्रोतका अनुसार आँबुखैरेनीमा माओवादी केन्द्रले सकेसम्म अध्यक्ष नभए उपाध्यक्ष र कम्तिमा २ वटा वडामा दावी गर्न सक्ने देखिन्छ । अन्यथा माओवादी केन्द्रले गठबन्धन नगर्न सक्छ। त्यसो त माओवादी केन्द्रमा पनि पछिल्लो समय आँबुखैरेनीमा पार्टी बलियो बन्दै गएकोले एक्लै लड्नुपर्ने मत बढ्दै गएको देखिन्छ।
उता नेकपा एस र जसपाले भने गठबन्धन भएमा पाएसम्म १ वटा वडाध्यक्ष दावी गर्न सक्छ। यसैले पनि आँबुखैरेनीमा गठबन्धन हुन सकस देखिएको छ।
यद्यपी गठबन्धनका लागि सत्ता घटक दलहरु बिच एक चरणको औपचारिक वार्ता भैसकेको छ । त्यसपछि अनौपचारिक वार्ता भएपनि औपचारिक रुपमा थप वार्ताहरु हुन सकेको छैन।
आँबुखैरेनीका सत्ता घटक दलहरु बिच भएको वार्तामा आवश्यकता र औचित्यताको आधारमा गठबन्धन गर्ने निर्णय भएको नेपाली काँग्रेसका सभापति विष्णु पन्थ र माओवादी केन्द्रका प्रदेश सदस्य शुक्र चुमानले बताए। तर यसरी नै जाने भनी अहिलेसम्म ठोस निर्णय हुन भने नसकेको उनीहरुले बताएका छन्।