सुसिला श्रेष्ठ, काठमाडौँ । नेपालमा हाल काठमाडौँ उपत्यकासहित ६० जिल्लामा डेङ्गीका बिरामी भेटिएका छन् ।
पछिल्लो ८ महिनामा १ हजार १ सय २६ जनामा डेङ्गी पुष्टि भएको छ । जसमा गत २ महिनामा मात्रै १ हजार ५६ जनमा सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
गत आर्थिक वर्ष २ सय १३ जनामा डेङ्गी सङ्क्रमण पुष्टी भएको चितवनमा गत साउनमा मात्रै १२ जनामा डेङ्गी सङ्क्रमण पुष्टी भईसकेको छ । हाल सबैभन्दा धेरै ललितपुर र रुपन्देहीमा डेङ्गी देखिएको छ भने काठमाडौँ पनि उच्च जोखिममा रहेको छ ।
डेङ्गी सङ्क्रमण देखा परेका पालिकाहरूले सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्ने कार्य गरिरहेका छन् । तर, काठमाडाँैमा भने सङ्क्रमण नियन्त्रणको काम सुरु भएको छैन । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत ८ महिनामा १ हजार १ सय २६ जनामा डेङ्गी पुष्टि भएको छ, जसमा गत २ महिनामा मात्रै १ हजार ५६ जनामा सङ्क्रमण देखिएको हो ।
तर, डेङ्गीका कारण यो अवधिमा मृत्यु भने कसैको नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि सचेतनामुलक अभियान चलाइरहेको छ ।
स्थानीय सरकारसँगको समन्वयमा समुहमालामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल छर्किने काम भईरहेको छ । लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गीबाट बच्ने उपाय हो ।
यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरिरका धेरै भाग ढाक्ने कपडा लगाउन सकिने विज्ञहरू बताउँछन् ।