काठमाण्डौ । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ ।
प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्रीसमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सिट बाँडफाँट लगभग टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार हिजो बेलुकासम्ममा झण्डै ९० सिटमा सहमति जुटेको छ । अन्य सिटमा कतै दोहोरो त कतै तेहेरोको दाबी छ ।काँग्रेसबाट कार्यदल सदस्य रहेका नेता ज्ञानेन्द्र कार्कीले केही सिटका लागि शीर्ष तहमा छलफल आवश्यक रहेको बताउनुभयो ।
नमिलेका केही सिटका लागि प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिने तयारी छ ।