कुरिनटार १३ पुस । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत संम्भारका लागि ६ दिन बन्द गरिने भएको हो । पुस १४ गतेदेखि पुस २० गते सम्म बन्द गरिने मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको महामारीसगैँ नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुन : सञ्चालनमा आएको थियो ।सञ्चालनको पहिलो दिन नै एक हजार भन्दा बढी भक्तजनहरूलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनहरूको भिड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो ।
यात्रुहरूको चाप बढ्दै गएपनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकता अनुसार नियमित बृहत् मर्मत सम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरि मर्मत गर्नुपर्ने भएकाले ६ बन्द गर्न लागिएको उहाँको भनाई छ । नियमित मर्मत सम्भारपछि पुस २१ गते मंगलबारदेखि पुनः नियमित सेवा सुचारू गरिने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
मनकामना केबुलकारको सेवा बन्द रहेतापनि मनकामना मन्दिर भने भक्तजनहरूका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मुल पुजारी इन्सान थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीहरुका लागि मन्दिर खुला गरिएको छ ।
गोरखाको शहिद लखन गाउँपालिका स्थित मनकामनामा रहेको मनकामना माता माइको मन्दिर जाने दर्शनार्थीहरुको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबुलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना ४ स्थित चेरेसमा रहेको छ । सोही बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।