Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवन विशेष

पर्यटकको पर्खाइमा चितवन मेघौलीका थारु होमस्टे

पर्यटकको पर्खाइमा चितवन मेघौलीका थारु होमस्टे

इच्छाकामना न्युज

१४, आश्विन २०७९
पर्यटकको पर्खाइमा चितवन मेघौलीका थारु होमस्टे

प्रतिमा कुमाल, चितवन । राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ गोलाघाट घुम्न आउने पर्यटकको लागि बस्ने उपयुक्त ठाउँ बनेको छ थारु होमस्टे । चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक मनमोहक सौन्दर्यताको भरपूर आनन्द उठाउन सक्छन् । सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकारको घ कै खाना खान पाउँछन् ।

images

पर्यटनको अत्यन्तै राम्रो सम्भावना बोकेपनि पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाटमा अहिले चहलपहल कम छ । जसको मारमा भरतपुर–२७ मा रहेको होमस्टेमा परेको देवी महतो बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘तीज र जितियामा खासै पर्यटक आएनन् । पानी परेकाले होला एक–दुई जना फ्वाटफुट्ट मात्र देखिए । त्यसपछि पनि खासै राम्रो छैन ।’ १२ वर्षदेखि होमस्टे सञ्चालन गर्दै अउनु भएकी महतोलाई दसैं र तिहारमा भने पर्यटकको आगमन बढ्ने आशा छ ।

होमस्टे संचालक सेमी महतोले शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको संख्या सन्तोष जनक रहेको बताउनुभयो । यी दुई दिन कार्यालय र विद्यालय आधा दिन चल्ने तथा बिदा हुने भएकाले बस्ने गरी पर्यटक आउने उहाँको भनाइ छ । अन्य बेला ६ देखि ७ जना त कहिले शून्य पर्यटक हुने गरेको उहाँले बताउनुभयो । भोलिदेखि कार्यालय तथा विद्यालयमा दसैंको बिदा हुने हुँदा गोलाघाट तथा यहाँको थारु होमस्टेमा घुम्ने र बस्नेको संख्या ह्वात्तै बढ्ने उहाँको विश्वास छ ।

मेघौली थारु होमस्टेका अध्यक्ष सोमबहादुर महतोले पर्यटकको लागि यहाँको गन्तव्य चाडपर्व केन्द्रित भएको गुनासो गर्नुभयो । यसको प्रचारप्रसार र स्थानीयको जीवनस्तर उकास्नको लागि यहाँका ठूला होटल व्यवसायी, पर्यटन विकास समिति लाग्नुपर्ने धारणा राख्नुभयो ।

बर्खाको समय र चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक आउन नसकेको रुपामाया कुमाले बताउनुभयो । गोलाघाटस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आएकी कुमालले अहिले दैनिक ५० देखि ६० जनामात्रै घुम्न आउने गरेको बताउनुभयो । कहिलेकाहीँ यही पनि नहुने उहाँले बताउनुभयो । अफसिजन भएकाले पनि पर्यटकको संख्या घटेको कुमालको भनाइ छ । पानी नपरे सुनसान देखिएको गोलाघाट चाडपर्वमा भरिभराउ हुने उहाँको आशा छ ।
मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतोले वर्षाका कारण केहि पर्यटकीय गतिविधिमा रोक लागाएकोले पर्यटक आगमनमा असर परेको बताउनुभयो । ‘अहिले पानी पर्ने मौसम छ । राष्ट्रिय निकुञ्जले डुङ्गा चलाउन दिएको छैन । जीप सफारी, हात्ती सफारीमा पनि रोक लगाएको छ । जुन कुरा हेर्न र अनुभव गर्न पर्यटन यहाँ आउँछन् त्यो नै नभएपछि संख्या घट्ने नै भयो,’ उहाँले भन्नुभयो ।

अध्यक्ष महतोले बर्खा मौसम पछि भने पर्यटकको संख्या बढ्ने दावी गर्नुभयो । कुनै पनि घटना–दुर्घटना नहोस् भन्ने हिसाबले अहिले पर्यटकीय गतिविधिमा रोक लगाएको जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज, सामुदायीक वन घुम्न आउने पर्यटक बढे होमस्टेसहित साना होटल भरिभराउ हुने उहाँको भनाइ छ । साथै उहाँले यस क्षेत्रका ठूला होटल, रेष्टुरेन्ट तथा लजहरुले पर्यटन प्रवद्र्धनको लागि कुनै सहयोग नगरेको प्रति दुःख व्यक्त गर्नुभयो । यहाँका ठूला पर्यटन व्यवसायीहरु कहाँ बाहिरी देशबाट प्याकेजिङमा पर्यटक आउने भएकाले वास्ता नगरेको गुनासो गर्नुभयो ।

गोलाघाटमा विशेष गरेर वाइल्डलाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रबिन्दु रहेको छ । एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको यहाँका व्यवसायी बताउँछन् ।

मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै संग्राहलय पनि बनाइएको छ । कुमाल संग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायतका पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन् । गोलाघाट संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता रहेको छ । अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीहरूले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् । यहाँको स्थानीय परिकार चिचर, लोकल हास–कुखुरा, घुङ्गिले पनि पर्यटकलाई आकर्षण गरिरहेको छ ।

यस क्षेत्रमा साना–ठूला गरेर २५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन । यहाँ स्तरीय होटलसँगै होमस्टेलाई पनि स्तरीकरण गरिएको छ । यहाँ आउने पर्यटक बस्नको लागि ८ वटा थारु होमस्टे रहेको छ । यसको क्षमता ६० जनाको रहेको छ । यहाँ कुमाल होमस्टे पनि सञ्चालनको क्रममा रहेको रामसिंह कुमालले जानकारी दिनुभयो । नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - १९:४३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology