चितवन । आगामी मंसिर ४ गते हुने निर्वाचनको मिति नजिँकिएसँगै चितवनका उम्मेदवारहरू अहिले मतदाताका घरदैलोमा आफ्ना चुनावी अभियानसँगै व्यस्त देखिन्छन्। उनीहरूले आफ्नो पक्षमा मतदाताहरूलाई प्रभाव पार्ने खालका प्रचार शैली अपनाउन थालेका छन्।
यसैविच निर्वाचनको माहोल सुरु भएसँगै कलाकारलाई पनि चुनावी चटारो लागेको छ। कोही कलाकार आफैं चुनावी मैदानमा उत्रिएका छन् भने कोही आफू निकट नेताहरुको प्रचारमा।
कार्यकर्ता तान्न र चुनावी मञ्च धान्न पनि नेताहरुले कलाकारको प्रयोग गर्छन्। सांगीतिक माहोल बनाउनमात्र हैन हिजोआज कलाकार पनि राजनीतिक दलमा प्रवेश गरेरै चुनावी प्रचारमा खटिन्छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नायिका रेखा थापादेखि कमेडियन हिमेश पन्तसम्म चुनावी मैदानमा छन्।
यस्तै चर्चीत ख्याति प्राप्त लोक दोहोरी गायक तथा सर्जक मिलन लामा (विष्णु)ले चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिई आफ्नै शैलीमा चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।
‘शासन होइन सेवाको लागि, आम एकताको लागि’ भन्ने मूल नाराका साथ चुनाव प्रचार प्रसारमा सक्रिय रहेका लामाको चुनाव चिन्ह ‘सूर्यमुखी फूल’ मा भोट गरौ भन्दै जनताको घरघरमा पुगेका छन् ।
आकर्षक गीत गाउनेदेखि माहोल आफ्नो पक्षमा पार्न विभिन्न उपाय अपनाएको उनी बताउँछन्। काम गरिरहेका स्थानीयसँग नमस्कार ठोक्छन् अनि भोट माग्छन, नभए एकैछिन गीत गाउँदै उनले आफ्ना एजेण्डा अगाडी सारेको भेटिन्छन् । खासगरी उनी आफ्ना दुई छोरासहित मतदाताहरूलाई घरमा नभेटे खेत बारीमा भेट्छन् । त्यही भेटेर भोट माग्छन् । गीत सुनाउछन् ।
कलाकारिताबाट कमाएको केही रकम र देश तथा विदेशमा बस्ने नेपालीहरुबाट प्राप्त सहयोगले गरिब दुखीको घर बनाइदिने देखी विपन्न, असहायलाई सहयोग गर्दै आईरहेका लामाले सामाजिक काममा लाग्दै गर्दा व्यक्तिगत रुपमा लाग्नुभन्दा राज्यकै संयन्त्रमा बसेर काम गर्दा बढी प्रभावकारी हुने देखेपछि यसपटक प्रतिनिधि सभामा जाने चाहना बढेको बताएका छन् ।
सर्व साधारण जनताहरुको हकअधिकारका लागि आफू एक्लै लाग्नुभन्दा संसदमा पुगेपछि त्यसबारे आवाज जोडदारको साथ उठाउन पाइने मात्र नभएर जनताको जीवनस्तर उठाउन आवश्यक योजनाहरू बारे सरकारको ध्यान आकर्षण समेत गराउने अधिकार पाइन्छ भन्ने अपेक्षाका साथ निर्वाचनमा होमिएको उनले बताए।
पहिलो एल्बम ‘कृष्णभीरमा जाम’ बाट चर्चा कमाएका गायक लामाको त्यसयता ‘हङकङ आइडीले’, ‘माझी दाइ’, ‘झल्को लाली ओठको’ हुँदै ‘लालुपाते’, ‘गाईलाई दाम्लो माछीलाई फुर्लुङ’ लगायत दर्जन बढी चर्चित गीत छन् । ‘मिलन’ नामक लोकआधुनिक एल्बम समेत निकालेका लामाको केही समयअघि मात्रै ‘डण्डा कावासोती’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर घरदैलो अभियानलाई तीव्रताको साथ् सम्पन्न गरिरहेका लामाले बताए अनुसार उनी हालसम्म कुनै पनि दलमा आवद्ध नभएको र चितवने जनताको दैनिक सुख दुखमा संग संगै रहेको हुनाले निर्वाचनमा जनताले साथ दिने कुरामा ढुक्क रहेका छन् ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, अर्थशास्त्री डा. विश्व पौडेल लगायतका व्यक्तिहरु चुनावमा मुख्य प्रतिष्पर्धि रहेको चितवन क्षेत्र नं १ रत्ननगरको मोहना घर भएका गायक लामा भन्छन्, ‘म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ, चितवनको भूगोल र जनताहरुले आफुलाई राम्ररी चिनेका छन् र यहीँ मर्ने मन छ, त्यसैले म चितवन क्षेत्र नं. १ का मतदाताबाट पूर्ण आशावादी छु।