सजना तिमल्सिना, काठमाडौँ । जलवायु परिवर्तनको मुद्दा विश्वभरका लागि चासो र चिन्ताको विषय बनेको छ । १९८ देश मध्ये नेपाल जलवायु परिवर्तनको जोखिमका हिसाबले चौथौ जोखिमयुक्त देश भए पनि राजनीतिक दलका घोषणा पत्रमा जलवायु परिवर्तनका मुद्दालाई खासै चासो दिइएको छैन ।
सरकारको नेतृत्व गरेको काँग्रेसले आफ्नो घोषणापत्रमा कार्वन उत्सर्जन र प्रदूषण घटाउने, आम जीवनशैली पर्यावरणमैत्री बनाउने, जलवायु अनुकूलनका योजना बनाउने र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिने उल्लेख गरेको छ । नेकपा माओवादी केन्द्रले जलवायु सङ्कटका प्रभावहरू कम गर्न आवश्यक नीति र कार्यक्रम बनाइ कार्यान्वयन गर्ने बताएको छ ।
नेकपा एमालेले वन र वातावरणको संरक्षण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन भन्ने छुट्टै शीर्षक दिएर जलवायु अनुकुलनका कार्यक्रम संचालन गर्ने लगायतका प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरेको छ ।
विश्वव्यापी रूपमा उठिरहेको जलवायु परिवर्तनको विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, राष्ट्रिय जलवायु नीति बनाएर अघि बढ्नुपर्ने माग हुन थालेको वर्षौँ भए पनि दलहरूले विश्वव्यापी जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिएका छैनन् ।