सौराहा, २० पौष ।
चितवनको सौराहामा आन्तरिक पर्यटन प्र्रर्बद्धनको लागि घोषणा गरिएको छुट प्याकेज कार्यान्वयन फितलो देखिएको छ । घुमौ सौराहा अन्तर्गत घोषणा गरिएको खाना,आवास,हात्ती र जीप सफारीमा गरिएको छुट कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
अंग्रेजी नयाँ बर्ष मनाउन सौराहा आएका पर्यटकहरुले सौराहाका व्यवसायीले खानामा मनपरी मुल्य लिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका थिए । क्षेत्रीय होटल संघ चितवनले रुममा २० देखि २५ प्रतिशत छुट र रेवान सौराहाले रेष्टुरेष्टमा १५ प्रतिशत छुट दिने घोषणा गरेका थिए । स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकाको आन्तरिक पर्यटन प्रर्बद्धनको लागि व्यवसायीसंगको सहकार्यमा सौराहाको प्याकेज कार्यक्रममा छुट दिने घोषणा गरेको थियो ।
घुमौ सौराहा अभियान चलिरहेको बेला हात्ती र जीप सफारीमा छुट दिनुको सट्टा मनपरी शुल्क लिएको भन्दै रत्ननगरका मेयर नारायण वन आक्रोसित भएका छन । आइतवार रेष्टुरेण्ट एण्ड बार एसोसियन९रेवान०सौराहाको १४ औं साधारण सभा तथा फुड फेष्टिवलको आयव्याय सार्वजनिक गर्न आयोजित कार्यक्रममा मेयर वनले छुट कार्यान्वयन नगर्ने व्यवसायीलाई स्थानीय सरकारले कारबाही गर्ने बताए । हामी सौराहामा आन्तरिक पर्यटन प्रर्बद्धनमा लागेका छौं मेयर वनले भने छुट नदिने व्यवसायी र यससंग सम्बन्धित संस्थालाई हामी कारबाही गछौं । हात्ती र जीप सफारीले मनपरी शुल्क दिएको जानकारी प्राप्त भएको भन्दै मेयर वनले स्थानीय सरकारको आग्रह नमान्ने हो भने हामी केही भन्दैनौं आफ्नो तरिकाले अगाडि बढ्दा हुन्छ ।
सौराहाका व्यवसायी समेत रहेका वडा नं ७ का वडाध्यक्ष लालबहादुर भट्टले कार्यान्वयन गर्ने नसक्ने गरी छुट घोषणा गर्नु व्यवसायीको गल्ती भएको बताए । २० देखि २५ प्रतिशत छुट भनेर घोषणा गरियो उनले भने त्यही छुट नपाएको गुनासो पर्यटकहरुबाटै आएको छ । छुट घोषणा गर्ने र कार्यान्वयन नगर्ने प्रबृतिको कारण सौराहाको ओजन घटेको उनको भनाई छ । दिन नसक्ने भए किन घोषणा गर्नु भट्टले प्रश्न गर्दै भने यसले झन नकरात्मक सन्देश गएको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले सौराहाको पर्यटनलाई बचाइ राख्न छुट प्याकेज घोषणा गरिएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको बताए । रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले रेष्टुरेण्टहरुले १५ प्रतिशत छुट दिएको बताए ।
कार्यक्रममा महासचिव कृष्ण भट्टले प्रगति प्रतिवेदन तथा १४ औं सौराहा फुड फेष्टिवलका संयोजक ध्रुव गिरीले फेष्टिवलको आम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए । संयोजक गिरीले फेष्टिवलमा ८२ लाख ३० हजार आम्दानी भएको र ७८ लाख ६६ हजार खर्च कटाएर ६ लाख ९६ हजार रुपैया नाफा भएको जानकारी दिए ।
फेष्टिवलमा भएको नाफा पर्यटन विकास र सामाजिक क्षेत्रमा खर्च गरिने संयोजक गिरीले जानकारी दिए । रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले कोरोना महामारीका कारण फेष्टिवलको आयव्याय सार्वजनिक गर्न ढिलाइ भएको बताए । कोरोनाले सौराहाको पर्यटन तहसनहस भयो उनले भने व्यवसायी आक्रान्त भएको बेला कार्यक्रम गरेर आयव्याय सार्वजनिक गर्ने बाताबरण बनेन । कार्यक्रममा केन्द्रीय रेवानका कोषाध्यक्ष नरेशध्वज श्रेष्ठ,रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष पुरु खनाल,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ,रेवान सौराहाका उपाध्यक्ष नरेश गिरी लगायतले मन्तव्य राखेका थिए ।
स्रोतः चितवन पोष्ट दैनिक