काठमाण्डौ, २५ पुस । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कप माघ २ गतेबाट सुरु हुने जनाएको छ ।
त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने पनि क्यानले जनाएको छ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश रहेका छन् ।
यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच त्रिवि मैदानमा प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो दिन एपीएफ र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिनबाट हरेक दिन दुई खेल हुने कार्यतालिका रहेको छ ।समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।