काठमाण्डौं, २६ पौष ।
आज दिनभर पशुपतिनाथको मन्दिर बन्द हुने भएको छ।
हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो।
पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ । धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताउनुभयो। कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुष १ गतेदेखि खुलेको थियो।
पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो। पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । पुस १५ देखि आउँदो माघ २९ सम्म सौर र चन्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भन्ने गरिएको शास्त्रीय मान्यता छ ।