Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

व्यवसायिक तरकारी खेतीमा जम्दै गण्डकी गाउँपालिकाका किसान

व्यवसायिक तरकारी खेतीमा जम्दै गण्डकी गाउँपालिकाका किसान

व्यवसायिक तरकारी खेतीमा जम्दै गण्डकी गाउँपालिकाका किसान

भुम्लिचोक । गण्डकी गाउँपालिकाका ६ बटुकीका भक्तबहादुर राना मगर, प्रेम राना मगर र थुम्काकी झलकमाया प्रजा व्यवसायिक तरकारी किसान हुन् । उनीहरु सिजनअनुसारका तरकारी बेचेको आम्दानीले आफ्नो परिबार पाल्न र आइपर्ने विभिन्न गर्जो सजिलैसित टार्न सफल भएका छन् ।

images

उनीहरु मात्र होइन, यस पालिकाकाको पृथ्वीराजमार्गतर्फ उन्मुख वडा नं. २, ६, ७ र ८ का किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

बटुकीका ५९ बर्षीय भक्तबहादुर राना मगर व्यवसायिक तरकारी खेतीमा तल्लीन भएको १८ बर्ष भयो । ‘घ्याल्चोक फाँट तरकारीले ढाकेको देखेर म पनि तरकारीतिर पल्केको हो’, राना मगर भन्छन्, ‘सुरुसुरुमा सिकोडर, सप्रोस संस्थाहरुले पनि सघाएका थिए । अनि सबैजना सिजनअनुसारको र बेमौसमी तरकारी खेती गर्न थालेको हो ।’

अहिले उनको गाउँका १८ घरमध्य सबै जना तरकारी खेती गर्छन् । ‘अहिले टमाटर, काँक्रोको बिउ जमाउने सिजन हो’, उनी भन्छन्, ‘तपाई देख्न सक्नुहुन्छ, सबको खेतबारीमा प्लास्टिक टनेल छन् । उता पारि पनि हेर्नुस् त, पाखैभरि टनेलैटनेलले ढाकेको छ ।’ प्रत्येक किसानले कम्तिमा चार, पाँच रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने उनले बताए ।
चैत, वैशाखको सिजनमा काँक्रो मात्रै बेचेर चारदेखि पाँचलाख रुपैयाँ आम्दानी गर्ने अर्का किसान प्रेम राना बताउँछन् ।

‘पोहोर मात्रै यो बारीबाट मैले १७ क्वीण्टल काँक्रो निकालेँ’, उनी भन्छन्, ‘सिजनअनुसार टमाटर, काँक्रो, घिरौँला, भेँडी, काउली, बन्दा, बोडी, सिमी हुन्छ । धेरै त भन्न सक्दिन, यहाँका दुख गर्ने किसानले घर गृहस्थी चलाउन खाडी जानु पर्दैन ।’ पहिले आफ्नै बारीको उत्पादनले छ महिना पनि खान धौ–धौ हुने यस भेगका किसानलाई तरकारी खेतीतिर लागेपछि खानेकुराको चिन्तै हुन छाडेको उनको भनाइ छ । साथै तरकारी बेचेर कमाएको पैसाले चाडपर्व मान्न, ओखतीमुलो गर्न, छोराछोरी पढाउन पनि सजिलो भएको किसानहरुको भनाइ छ ।

बिगत दुई बर्ष कोभिडका कारण यहाँका किसानले पनि दुख नपाएका होइनन् । ‘छुतछात हुन्छ भन्ने डरले एउटा गाउँबाट अर्को गाउँ जान नपाउने अबस्था थियो । त्यसैले कोरोनाले गर्दा परार खाने बेला भएका काँक्रो त्रिशुलीमा बगाइयो । पोहोर पनि राम्रो भाउ पाइएन’, उनले भने, ‘नत्र बिउ, मल, टनेल यसोउसो गर्दा एकलाख जति खर्च हुन्छ । तीन–चार लाख चोख्खो बच्छ ।’ स्थानीय स्तरमा गठन भएका कृषि सहकारीहरुले बजार व्यवस्थापनमा मद्दत गरिरहेका छन् ।

तरकारी खेतीले यहाँका किसानलाई खुशी त दिएको छ, तर सिँचाइ अभावले निक्कै सताउने गरेको छ । ‘पहिले त जताततै पानीको मूल थियो, भूकम्पपछि पानीको मूल सुक्यो । अहिले सिँचाइ गर्न धेरै मुस्किल छ’, भक्तबहादुर राना मगर भन्छन्, ‘किसानलाई धेरै बजेट छुट्याएको छ भनेर रेडियोले त भन्छ तर हाम्रो समस्या कसले सुन्ने हो थाहा छैन । वडा अध्यक्षलाई पनि भनेको हो खै केही व्यवस्था भएको छैन । जेटिए पनि कहिल्यै आएको देखेको छैन ।’

सरकारले गाउँमा मोटरबाटो बनाइदिएपछि तरकारी फिस्लिङ बजारसम्म झार्न सजिलो भएको किसानहरु बताउँछन् । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - ०९:०२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology