Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज पौष कृष्ण औँसीः विधिपूर्वक तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

आज पौष कृष्ण औँसीः विधिपूर्वक तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

रासस

२८, पौष २०७७
आज पौष कृष्ण औँसीः विधिपूर्वक तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौँ, २८ पुस । पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ ।दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले राससलाई जानकारी दिनुभयो ।

images

सौरमासअनुसार माघे संक्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ ।

यसै आधारमा आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती लगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको सहप्राध्यापक सापकोटा बताउनुहुन्छ ।

“महालय परपक्ष र पितृ पक्षसमेत भनिने सोह्र श्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघर तिरका तीन तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ”–उहाँले भन्नुभयो ।

श्राद्ध भनेको श्रद्धा हो । शास्त्र अनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिएपनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तोमात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।

आज औँसीमा सूर्य अस्ताउने भएकाले पितृकर्म आजै गर्नुपर्छ । उदयमा औँसी देवकर्मका लागि गर्नुपने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

औँसीको सूर्य उदय बुधबार छ । औँसीमा जन्मोत्सव आदि देवकर्म गर्नेले भोलि गर्नुपर्ने शास्त्रीय नियम रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - १३:३५:४५ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology