Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

थारु समुदायमा माघी पर्वको चहलपहल सुरु

थारु समुदायमा माघी पर्वको चहलपहल सुरु

इच्छाकामना न्युज

२९, पौष २०७७
थारु समुदायमा माघी पर्वको चहलपहल सुरु

देउखुरी, २९ पुस । थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ ।

images

माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरु भएको घोराही–७ वेसाहीका अनुपमा चौधरी बताउनुहुन्छ । उहाँका अनुसार ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाउँदैछाँै, माघीको सम्पूर्ण तयारी पूरा भएको छ । यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन तर खानाको परिकार बनाउन भ्याइनभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । वेसाही गाउँ थारू समुदायको बाक्लो वस्ती भएको ठाउँ हो, घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुट्नुभएको छ ।

थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरी बताउनुहुन्छ । “ वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्वपूर्ण छ, माघमा प्रत्येक वर्ष नाचगान हुने घोराही–१७ कर्जाही गाउँमा यो वर्ष नाचगानको तयारी भने छैन”, उहाँ भन्नुहुन्छ, “पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो ।” सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुुसर्दिला हुने र खानपिन गरेर आफ्ना साथीसङ्गीसँग रमाइलो गर्ने गर्दछन् । अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको चौधरी बताउनुहुन्छ ।

थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारूहरुको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व ९माघ० भएको बताउनुभयो । विषेश पर्व भएका कारण यसको थारू समुदायमा धेरै महत्व छ । यस वर्ष कोरोनाका कारण भेला, नाचगान, सभा गर्ने कार्यक्रम नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षमा नाचको प्रतियोगिता हुने विभिन्न जिल्लाबाट थारू समुदायका मानिसलाई भेला गराउने गथ्र्याँै यसपालि ठूलो कार्यक्रम छैन । परम्परा जोगाउन गाउँघरमा भेला हुने, संस्कार र संकृतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको सभापति चौधरीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारू समुदायको नयाँ वर्ष र महान् पर्व माघलाई आपसी मेलमिलापको रूपमा मनाउन पर्ने बताउनुभयो । उहाँले अनावश्यक भीडभाड नगरी सामान्य तरिकाले चाड मनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गर्नुभएको छ । विगतका वर्षमा स्थानीय सरकारले माघको विशेष कार्यक्रम गरेको भए पनि यस वर्ष कोभिडका कारण कुनै कार्यक्रम भएको छैन । यसैबीच लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभरि सार्वजनिक बिदा दिने भएको छ ।

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १०:१२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology