काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट आज आइतबार सर्वोच्च अदालतमा दर्ता हुने भएको छ ।
रिट दर्ता गर्न दिन सर्वोच्च अदालतको शुक्रबार आफ्नै प्रशासनलाई आदेश दिएसँगै प्रधानमन्त्री दाहालविरुद्धको रिट आज दर्ता हुन लागेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार उक्त रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशपछि आइतबार रिट दर्ता गरिन लागेको हो ।
ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपी लिई रिट दर्ता गरिने अधिवक्ता ज्ञानेन्द्रराज आरणले जानकारी दिए ।
२०७६ माघ १ गते माघी पर्वका दिन टुँडीखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता आरणलगायत २५ जना र कल्याण बुढाथोकी लगायत ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन ।