भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाभित्रका विद्यालयमा सुन्य दुव्र्यसनी अभियान सुरु भएको छ । गाउँपालिकाको आयोजनामा आईतवारदेखि सुरु भएको उक्त कार्यक्रम पालिकाभित्रका सबै माध्यामिक विद्यालयमा संचालन हुने शिक्षा शाखाका प्रमुख सुदीप पन्थले बताए ।
विद्यार्थीलाई लागुपदार्थ के हो ? यसको दुव्र्यसनमा कसरी फँसिन्छ ? कसरी टाढा रहने ? घर परिवार समुदायमा मादक पदार्थ, लागु औषधको दुव्र्यसनीमुक्त कसरी बनाउने, विद्यार्थीको भूमिका के हुन्छ ? भन्ने विषयमा उनीहरुलाई जानकारी दिइएको थियो । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले विद्यार्थीकालदेखि लागु औषधको प्रयोगबाट टाढा रहने र समुदायमा पनि सचेतना गराउन महत्वपूर्ण भुमिका हुने बताए । गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले विद्यार्थीले सिकेका कुरा आफ्नो ब्यवहार र परिवारकालागि पनि सिकाउनुपर्नेमा जोड दिईन् । साथै उनले माध्यमिक तहका विद्यार्थीकालागि लागुपदार्थ, लागुऔषधको बारेमा जान्नुपर्ने र त्यसबाट हुने असरको बारेमा थाहा भएपनि उनीहरु निरुत्साहित हुने बताईन् ।
प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले किशोर अवस्था(टीनएज)का बालवालिकालाई लागुऔषध र लागुपदार्थको बारेमा ज्ञान नहुँदा पनि उनीहरुले त्यसतर्फ फँस्न सक्ने भएकाले सचेतना गरिएको बताए । सबै विद्यालयमा यो कार्यक्रम संचालनपछि दुव्र्यसनबाट बच्न विद्यार्थीलाई प्रेरणासमेत मिल्ने उनले बताए ।
उक्त कार्यक्रमको सहजिकरण परिर्वतनकालागि युवा सञ्जाल कास्कीका सचिव अमृतराज भट्टराई, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, सचिव विकास मरहट्टा लगायतले सहजिकरण गरेका थिए । पहिलो दिन तोमनडाँडा माविबाट उक्त कार्यक्रम सुरु भएको हो । सोही अवसरमा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाका प्रमुखहरुले लागु औषधको प्रयोगबाट हुने समस्याका बारेमा जानकारी गराएका छन् । दरौदी दैनिकबाट