कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा नयाँ जनप्रतिनिधिको पहिलो एक वर्षको कार्यकाल पुरा भएको छ । नयाँ जनप्रतिनिधिले निर्वाचित भै शपथ ग्रहण गरि कार्यभार सुरु गरेको जेठ ६ गतेले एक वर्ष पूरा भएको हो ।
नयाँ जनप्रतिनिधिको एक वर्षे कार्यकालमा अन्य कामहरु पनि गरेको भएपनि विगत ३ वर्षदेखि अलपत्र अवस्थामा रहेको निर्माणधिन इच्छाकामना अस्पतालको जग्गाको स्वामित्व प्राप्ति तथा बजेट सुनिश्चितता गरि निर्माण सुरु गर्नु नै मुख्य उपलब्धि देखिएको छ । गाउँपालिकाले सोमबार कुरिनटारमा पत्रकार भेटघाट कार्यक्रम गरि एकवर्षे कार्यकायलमा भए गरेका प्रगति विवरण अनुसार यस्तो देखिएको हो ।
कार्यक्रममा वार्षिक प्रगति विवरण सुनाउदै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले अस्पतालको लागि जग्गा स्वामित्व विवाद समाधान गरि अस्पताल निर्माणको लागि बजेट सुनिश्चित गरिएको जानकारी दिए । उनका अनुसार अस्पताल निर्माणको लागि टेण्डर प्रक्रिया सकिएर सम्झौताको अन्तिम चरणमा रहेको छ । ‘अबको एकदुई दिन भित्रैमा निर्माण सम्झौता हुनेछ’ –उनले भने ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले चालु आर्थिक वर्षमा केन्द्र सरकार अन्तर्गत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इच्छाकामना अस्पतालको डिपिआर स्वीकृत गराई १८ करोड रुपैयाँको बजेट सुनिश्चित गरिएको बताए । बजेट सुनिश्चितता सँगै टेन्डर खुलेर १३ करोड ५९ लाख ११ हजार ५ सय ७१ रुपैयाँ ९७ पैसामा निर्माण गर्ने गरि निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी भैरहेको अधिकृत भुषाले बताए । ‘बुधबारसम्म निर्माण कम्पनीसँग सम्झौता हुनेछ’ –उनले भने ‘आगामी साढे २ वर्ष भित्रमा अस्पताल निर्माणको काम सम्पन्न हुन्छ’ ।
यस्तै यहि एक वर्षको अवधिमा स्वास्थ्यतर्फ अध्याधुनिक डिजिटल एक्सरे मेसिन जडान देखि मेडिकल अफिसर नियुक्त गरि इच्छाकामना अस्पतालको सेवा अस्थायी रुपमा सुरु गरिएको छ ।