Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामनाका जनप्रतिनिधि र कर्मचारी पनि जुटे स्थानीयसँगै जनश्रमदानमा

इच्छाकामनाका जनप्रतिनिधि र कर्मचारी पनि जुटे स्थानीयसँगै जनश्रमदानमा

गाउँपालिकामा श्रमदान संस्कृतिको विकास गर्दै श्रमदानबाटै स्याङदी खोलामा ट्रष्ट ब्रिज निर्माण गर्ने तयारी

चित्र बहादुर गुरुङ

१०, आषाढ २०८०
इच्छाकामनाका जनप्रतिनिधि र कर्मचारी पनि जुटे स्थानीयसँगै जनश्रमदानमा
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु पनि स्थानीयसँगै जनश्रमदानमा जुटेका छन् । गाउँपालिकाले शनिबारदेखि वडा नं. ७ स्थित स्याङदी खोलामा निर्माण सुरु गरेको ट्रष्ट ब्रिजमा स्थानीयसँगै गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषाल, प्राविधिकहरु इन्जिनियर कृष्ण उपाध्याय, भरत गुरुङका साथै कार्यपालिका सदस्य लगायत स्थानीयहरु जनश्रमदानमा जुटेका हुन् ।

images
images

गाउँपालिकाले हरेक वर्षामा स्याङदी खोलामा बाढी आउने र बाढीका कारण खोला तर्न नसक्ने भएपछि वडाका स्याङ्गदी, ढाँडबारी, भालुमारा, सुन्दरवस्ती लगायतका गाउँहरुका स्थानीय बजार आउन जानका साथै स्थानीय विद्यार्थीहरु गर्दास माविसम्म पढ्न जानका लागि समस्या भोग्दै आएका थिए । स्थानीयको यहि समस्या समाधानका लागि यतिबेला गाउँपालिका जनप्रतिधि र कर्मचारीहरु स्थानीयसँगै जनश्रमदानमा पुल निर्माण गर्न जुटेका हुन् ।

गाउँपालिकाले श्रम शिविर मार्फत जनश्रमदान जुटाउदै पुल निर्माण गर्न लागिपरेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । ‘पुल निर्माणका लागि करिब २० लाख रुपैयाँ लाग्ने देखिन्छ, हामी कम्तीमा पनि ४० प्रतिशत जनश्रमदान गर्नेछौं।’ –उनले भने ‘दक्ष प्राविधिक शुल्क, सामाग्री खरिद र ढुवानीका लागि चाहिने खर्च बाहेक बाँकी श्रमदान हामी जुटाउछौ ।’

1.jpg

पछिल्लो समय गाउँपालिकाबाट निर्माण हुने योजनाहरुमा १० प्रतिशत अनिवार्य जनसहभागीतामा निर्माण हुनुपर्नेमा अधिकांश योजनाहरुमा जनसहभागीता शुन्य हुने अवस्था देखिएपछि जनश्रमदान संस्कृतिलाई प्रोत्साहन गराउनका लागि गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई नै श्रमदान गर्न लगाएर पुल निर्माण गर्न लागिएको अध्यक्ष गुरुङले बताए । 

पहिलो दिनको श्रमदानमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र केहि कर्मचारी, जनप्रतिनिधि, स्थानीयहरु संलग्न भएपनि दोस्रो दिनदेखि आलोपालो गर्दै सबै कर्मचारी, जनप्रतिनिधि र कर्मचारीलाई श्रमदानमा सहभागिता गराईने उनले बताए ।

यस्तै गाउँपालिका आगामी आर्थिक वर्षदेखि आर्थिक समृद्धिका लागि सामाजिक परिचालन कार्यक्रम लागु गर्न लागिरहेको जानकारी दिदै यसैको सुरुवातको रुपमा तत्काल जनश्रमदान जुटाएर स्याङदीखोलामा पुल निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले बताए । साथै उनले वर्षामा आउने विपत्को क्षति न्युनिकरणका लागि पनि उक्त स्थानमा पुलको आवश्यकता परेको हुनाले असार महिना भित्रै निर्माण सक्ने गरि पुल निर्माण थालिएको बताए।

गाउँपालिकाले स्याङदीमा निर्माण गर्न लागेको ट्रष्ट ब्रिज हाल उक्त वडाकै हरिपुल खोलामा प्रयोगमा आईरहेको पुल हो । हरिपुर खोलमा नयाँ पक्की मोटरेबल पुल निर्माण भएसँगै उक्त पुललाई त्यहाँबाट स्थानान्तरण गरि स्याङदी खोलामा जडान गर्न लागिएको हो ।

स्याङदी खोलामा निर्माण गर्न लागिएको ट्रष्ट बिच २४ मिटर लामो हुने गाउँपालिकाका प्राविधिक भरत गुरुङले जानकारी दिए । उनका अनुसार १५ देखि २० दिन भित्रमा स्याङदीमा पुल जडान गरिसक्नेछ । पुलको भारवहन क्षमता १५ टन रहेको छ । 

पुल निर्माण भएसँगै भालुमारा, स्याङदी, बाघखोर, ढाडबारी लगायतका स्थानीयलाई बर्खाको भेलमा जोखिम मोल्दै खोला तर्नुपर्ने बाध्यता हट्ने देखिन्छ । 

images
प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - ०८:२०:१० बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology